Media Network

पशुपति जलहरी काण्डः मुचुल्कामा सुन थोरै, अहिले धेरै कसरी भयो सम्भव ?


खबरस्टोरी संवाददाता

१२ असार २०८०,मंगलवार

काठमाडौं । पशुपतिनाथ मन्दीरमा राखिएको सुनको जलहरी काण्डले यतिबेला व्यापकता पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आईतबार सुनको परिक्षण गरेको थियो ।

तत्कालिन अवस्थामा जलहरी राखेलगत्तै सार्वजनिक गरिएको मुचुल्कामा भन्दा अहिले सुनको तौल बढेको देखिएको छ । पशुपति विकास कोषका तत्कालीन सदस्यसचिव प्रदीप ढकाल विरुद्ध अख्तियारले सोमबार मात्रै सदस्यसचिव रहँदा पद दुरुपयोग गरेर गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा विशेष अदालतमा १ करोड ४४ लाख रुपैयाँ बढी बिगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२ वर्षसम्म आरोपित नै पदमा बस्नु, पहिले कम परिमाणको जलहरी चढाउनु र २ वर्षपछि मुचुल्काको भन्दा बढी तौल देखिनु चलखेलको संकेत भएको कतिपयले बताएका छन् । साढे दुई वर्षअघि उठाइएको मुचुल्कामा ९६ केजी ८२२ ग्रामको जलहरी बनाइएको र बाँकी सुनका टुक्राबाट रिङ बनाएर त्यसमा लगाइएको उल्लेख छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार गरेको परीक्षणमा जलहरीको तौल १०७ केजी ४६८ ग्राम पाइएको छ । पशुपति क्षेत्र विकास कोषले भने १०७ केजी ९२४.७५ ग्रामको जलहरी राख्ने निर्णय गरेको थियो ।

नेपाल राष्ट्र बैंकबाट ८० करोड ११ हजार रुपैयाँमा १०३ केजी ७७३ ग्राम सुन खरिद गरेर अपारदर्शी रूपमा जलहरी तयार पारिएको भन्दै कोषका तत्कालीन पदाधिकारीविरुद्ध २०७८ मै अख्तियारमा उजुरी परेको थियो । महालेखाको प्रतिवेदनमा राष्ट्र बैंकबाट किनिएको १०३ केजी ७७३ ग्राम सुनमा २ केजी ८९० ग्राम तामा, १ केजी २४९ ग्राम चाँदी, १२।७५ ग्राम जिंकसहित राखेर १०७ केजी ९२४.७५ ग्रामको जलहरी बनाइएको भनिए पनि त्यसको रिङमा प्रयोग गरिएको सुनको परिमाण पुष्टि हुने विवरण नभएको उल्लेख छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद