Media Network

राजनीतिमा रवि: मिडियामा हुँदा नेतालाई गाली, नेता हुँदा मिडियालाई


खबरस्टोरी संवाददाता

२३ माघ २०७९,सोमबार

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिजो अपराह्न एकाएक पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै देशका आम मिडिया र संचालकहरुलाई इङित गर्दै आफ्ना सम्पूर्ण भडास पोखे ।

पार्टीको केन्द्रिय बैठक सकेर पत्रकार सम्मेलनमा मिडिया मालिकका ‘पोल’ सँगै रविले आक्रोश, कुण्ठा अनि विगतदेखि मनभित्र गुम्सिएका भावहरु छताछुल्ल पारे ।

सरकारबाट ३२ दिनमै बाहिरिनुपरेको पीडा उनले खुलेरै पोखे । अनुहारमा छरपस्ट भएका आवेग र आक्रोश उनी आफैले पनि थाम्न सकिरहेका थिएनन्।आफू सरकारबाट बाहिरिए। अनि आफ्ना मन्त्रीहरूलाई मन्त्रीहरूलाई पनि फिर्ता हुन आदेश थिए। क्षणमै निर्णय गरेर सरकारमा छिरेका थिए, एउटा सनकमै बाहिर आए।

आइतबार बिहानको निर्णायक बैठक सुरू हुनुअघि नै उनले सामाजिक सञ्जालमा सन्देश छोडेका थिए ‘आज विशेष पत्रकार सम्मेलन गर्नेछु। सिधा कुरा नगरेको धेरै भएछ‘।’सरकार छोड्ने एक लाइनको निर्णय सुनाएपछि रविले करिब सवाघण्टासम्म पत्रकार, यहाँको पत्रकारिता र मिडिया मालिकहरूलाई निरन्तर गाली नै गरिरहे।उनका गालीहरू उनैले गाली गरिरहेका मिडियाले विना सम्पादन अन्तिमसम्म ‘लाइभ’ गरिरहेका थिए।

उनले मिडियालाई आफ्नो मात्रै होइन सिङ्गै देशको ‘दुश्मन’सम्म भन्न बाँकी राखेनन्।‘विदेशी शक्तिले यहाँ यस्तो ग¥यो उस्तो ग¥यो भनेका छन् उनले भने ‘त्यो केही होइन। यो देशका सबैभन्दा दुश्मन भनेका यहाँका मिडियाहरू नै हुन्।’

उनले पत्रकारहरूलाई ‘जँड्याहा, दलाल अनि रक्सीमा बिक्ने’ भनेर निकै तल्लोस्तरमा गाली पनि गरे। आफ्नो चरित्रबारे लेख्ने हरेक पत्रकारका श्रीमतिहरूलाई ‘लोग्ने सम्पादकको’ मोबाइल चेक गरेर उनीहरुको ‘चरित्र’ थाहा पाउन पनि उनले भने। पत्रकार अनि सम्पादकका श्रीमतिहरूलाई उनले ‘सम्पादकनी भाउजु ’ भनेर सम्बोधन गरे।

केही ठूला भनिएका मिडियाका सञ्चालक अनि सम्पादकहरूको नामै लिएर उनले अब आफू कसैसँग नडराउने र उनीहरूका ‘कर्तुत’हरूका बारेमा बोल्दै जाने पनि उनले बताए।र, खुलेआम पत्रकारहरूलाई चुनौती दिँदै भने ‘मिडियावालाहरूले मिडिया चलाउने हो। देश चलाउने भए आउनुस् चितवन २ बाट मसँग चुनाव लड्नुस्।’उनले आफूविरुद्ध लेख्ने मिडियाहरूलाई घेर्न जाने धम्की समेत दिए।

‘मलाई कहिल्यै रुचाइएन। यहाँका पत्रकार अनि मिडियाहरूले कहिल्यै रुचाएनन्। मलाई सधैं घेराबन्दीमा पारिरहे। तर म घेरा तोडेर निस्किरहें’ उनले भने ‘त्यसैले मैले भनेको थिएँ, म अभिमन्यू होइन भनेर। म घेराबन्दीमा छिरे पनि निस्किन जानेको छु। त्यहाँभित्र आत्महत्या गर्न सक्दिनँ।’

पत्रकार र मिडियाहरूलाई गाली गरिसकेपछि उनले भने ‘अब बल्ल आनन्द आयो। म रिलिफ भएँ। अब मैले आराम गर्छु।’




Share:
Reaction :
ताजा समाचार
खेलकुद