Media Network

रासायनिक मलको मूल्यवृद्धि फिर्ता गर्न किसान सङ्घ सङ्गठनहरूको माग


खबरस्टोरी संवाददाता

२ चैत्र २०७९,बिहीबार

काठमाडौँ । विभिन्न दल सम्बद्ध किसान सङ्घ सङ्गठनहरूले मलमा भएको मूल्य वृद्धि फिर्ता लिन र राष्ट्र बैंकको नीति विपरीत ऋण प्रवाह गर्ने सहकारी, लघुवित्त र तिनका सञ्चालकहरूलाई कालो सूचीमा राखेर कडाभन्दा कडा कारबाही गर्न सरकारसमक्ष माग गरेका छन् । 

उनीहरुले लघुवित्त र सहकारीहरूले चक्रीय ब्याज प्रणालीमा लिइरहेको कोरोना कालदेखि हालसम्मको सम्पूर्ण ब्याज र हर्जाना मिनाहा गर्न र बाँकी ऋण भुक्तानीका लागि पर्याप्त समय अवधि दिई ऋणको पुर्नतालिकीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) र नेपाल समाजवादी किसान महासङ्घले संयुक्त विज्ञप्ति जारी गर्दै  नेपाली किसानहरूलाई वर्गीकरण गरी ‘किसान परिचय पत्र’ प्रदान गर्न र सोही आधारमा सेवा, सुविधा, अनुदान, राहत, बिमा, कृषि ऋण र अन्य सुविधा उपलब्ध गराउन पनि माग गरेका छन् । 

६० वर्ष उमेर पुगेका किसानहरूलाई किसान पेन्सन र सबै किसानहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन पनि उनीहरुले सरकारसँग माग गरेका छन् । 

१० बुँदे माग अघि सार्दै उनीहरुले कृषिको प्राथमिक उत्पादनको क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी निषेध गर्न तथा नेपाली कृषिलाई विदेशी तथा दलाल पुँजीपतिको हातमा जान र परनिर्भर बन्नबाट रोक्न माग गरेका छन् । 

त्यस्तै उनीहरुले मिटरब्याजीहरूलाई कडाभन्दा कडा कारबाही गर्न, साँवा (मूलधन) रकम बराबर रकम भुक्तानी गरिसकेका सबै ऋणीहरूको ऋण मिनाहा, विदेशबाट तरकारी, कुखुरा, अण्डा, खसी बोका र पशुपन्छी लगायतको आयात रोक्न माग गरेका छन् ।

‘खाद्यान्न, तरकारी तथा फलफूलमा विषादीको अवशेष परीक्षणलाई कडाइका साथ लागु गरियोस् । स्वदेशी किसानको उत्पादनलाई संरक्षण र प्रोत्साहन गरियोस्’, विज्ञप्तिमा उल्लेख छ । साथै मूल्य वृद्धि नियन्त्रण कालोबजारी गर्नेहरूमाथि कडा कारबाही गर्न तथा रासायनिक मलको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन माग गरेका छन् । 

‘खेतीको समयमा रासायनिक मलको अभाव हुने स्थितिको अन्त्य गरियोस् । आगामी १० वर्षमा देशमा रासायनिक मल बिना खेती गर्न सकिने गरी प्राङ्गारिक खेती र दिगो कृषिलाई प्रवर्द्धन गरियोस्’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यसरी विज्ञप्ति जारी गर्नेहरूमा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का प्रतिनिधि शेखर आचार्य र समाजवादी किसान महासङ्घका अध्यक्ष तेजबहादुर श्रेष्ठ रहेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद