Media Network

राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिँदा १८ वटा कागजात अनिवार्य


खबरस्टोरी संवाददाता

१२ पुष २०८०,बिहीबार

काठमाडौं । आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा उम्मेदवारी दिन चाहनेले १८ वटा कागजात अनिवार्य पेशगर्नु पर्ने भएको छ ।

निर्वाचन आयोगको बुधबार बसेको बैठकले मनोनयन पत्र दर्ता गर्दा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५, राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ र राष्ट्रिय सभा सदस्य निर्वाचन निर्देशिका, २०७६ बमोजिम १८ वटा कागजात अनिवार्य पेश गर्नुपर्ने निर्णय गरेको आयोगले जनाएको हो ।

आयोगले पुस २३ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका यस अघि नै सार्वजनिक गरिसकेको छ । मनोनयन दर्ता गर्दा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नु पर्नेछ ।

यस्तै उम्मेदवारले धरौटी स्वरूप १० हजार रुपैयाँ पनि बुझाउनु पर्नेछ । तर महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारले भने पाँच हजार रुपैयाँ बुझाउनुपर्नेछ।

दलको उम्मेदवारको हकमा उम्मेदवार मनोनयनको औपचारिक पत्र, कुनै संघीय कानूनले अयोग्य नभएको भनी गरेको स्वघोषणा पत्र, निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने कुनै लाभको पदमा बहाल नरहेको भनी गरेको स्वघोषणापत्र पेश गर्नुपर्नेछ ।

साथै उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा बहालवाला पदाधिकारी भए निजले बहाल रहेको पदबाट राजीनामा दिएको दर्ताको निस्सा, २०७९ सालको प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम फिर्ता लिएको आयोगको पत्रको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद