Media Network

सुरु भयो मौन अवधि, के के गर्न पाइँदैन ?


खबरस्टोरी संवाददाता

२ मंसिर २०७९,शुक्रबार

काठमाडौं । ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्थिर समय सुरु भएको छ ।

मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि स्थिर समय तोकेको हो । मतदान नसकिएसम्म स्थिर समय कायम रहनेछ ।निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आजदेखि चुनावी प्रचार गर्न पाउनेछैन ।

मध्यरातिबाट राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न नपाउने आयोगले जनाएको छ ।सञ्चार माध्यमले पनि कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न मिल्दैन ।

निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न स्थिर समय तोकिएको हो ।

स्थिर समयभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेलारगोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ । निर्देशिकाविपरीत स्थिर समयमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्ने निर्वाचनसम्बन्धी कानुनमा उल्लेख छ  ।


स्थिर समयमा के के गर्न पाइँदैन ?

–निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने।

–मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने ।

–एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।

–अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न नहुने ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद