Media Network

सरकारी सर्भर डाउन


खबरस्टोरी संवाददाता

६ असार २०८०,बुधबार

काठमाडौं । मंगलबार साँझदेखि नेपाल सरकारका सबै वेबसाइटहरू चलेका छैनन् । ‘डट जीओभी डट एनपी’ डोमेनमा रहेका सरकारी वेबसाइट नखुलेपछि वेबसाइट र अनलाइनमार्फत प्रदान हुने अत्यावश्यकीय सेवा रोकिन पुगेका छन् ।

यही कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै २ घण्टा सेवा अबरुद्ध भएपछि विमानस्थल अध्यागमनले यात्रुको जाँचपास सेवा ‘म्यानुअल इन्ट्री’ गरेर गर्न सुरू गरेको थियो । विमानस्थल अध्यागमनका प्रमुख रामबाबु सेवेदी बुधबार मात्रै यात्रुको डिटेल अनलाइनमा इन्ट्री गर्ने गरी सेवा दिन थालिएको बताउँछन् । ‘लामो लाइन लागेपछि र यात्रुको फ्लाइट नै छुट्ने भएपछि सर्भर कतिबेला चल्ला भनेर कुरेर नबस्ने निर्णय लियौं,’ उनले भने ।

सरकारी सरकारी वेबसाइटहरु डाउन हुनुको कारण भने उदेकलाग्दो छ । सरकारी डेटा सेन्टरका रुपमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदीप पौडेलका अनुसार सोमबार दिउँसोदेखि नै नेपाल विद्युत प्राधिकरणले सरकारी सर्भरका लागि बिजुली आपूर्ति गर्न सकेको छैन । सिंहदरबारस्थित सबस्टेसनमा प्राविधिक समस्या आएपछि सूचना प्रविधि केन्द्रमा लाइन नआएको उनले बताए ।

तर, लाइन नभएपछि केन्द्रले डिजेलबाट चल्ने जेनेरटर चलाएर बिजुलीको व्यवस्था गरेको थियो । तर, साँझसम्म चलिरहेको जेनेरेटर तात्दै गयो र चल्न छाड्यो । योसँगै सरकारको डेटा सेन्टरमै विद्युत आपूर्ति पूर्णरुपमा बन्द भएर ‘सर्भर डाउन’ हुन पुगे ।

‘प्राधिकरणले अझैसम्म पनि समस्या समाधान गरेर लाइन दिएको छैन,’ पौडेलले भने,‘करिब एक मेगावाटको बिजुली खपत गर्ने जेनेरेटर घण्टौं चलिरहन सक्दैन, तातेपछि समस्या आएर बन्द भयो ।’

पौडेलका अनुसार मंगलबार विहानदेखि बिजुली आउने–जाने समस्या देखिएको थियो । दिउँसो १२–१ बजेबाट सबस्टेसनबाट बिजुली आपूर्ति बन्द भयो ।जेनेरेटर समेत लामो समय चलाउँदा तातेपछि बन्द गरिएको उनको स्पष्टीकरण छ। प्राधिकरणले विद्युत आपूर्ति फेरि सुरू गर्न समय लगाएको उनको गुनासो छ ।

केन्द्रका अन्य अधिकारीहरुका अनुसार स्तरीय ‘कुलिङ सिस्टम’ नहुँदा जेनेरेटर र तारमा समस्या देखिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद