Media Network

सिद्धार्थ राजमार्ग पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने


खबरस्टोरी संवाददाता

९ पुष २०८०,सोमबार

पाल्पा। सुरुङ मार्ग निर्माण गर्न सिद्धार्थ राजमार्ग यही पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि सडक बन्द गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए ।

सुरुङ मार्ग निर्माण गर्न सिद्धार्थ राजमार्ग पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने 

सुरुङ मार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक र दुई र स्लोप क्षेत्रको कार्य गर्दा बाटो साँघुरो भएको कारण राजमार्गको सिद्धबाबा खण्ड पुस १६ गतेबाट सय दिन बन्द हुनेछ ।

सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुनेछ भने अत्यावश्यक सवारीसाधनलाई कुनै रोक नलगाइएको प्रशासनले जनाएको छ । सुरुङ निमार्ण थालेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङ निमार्ण कार्य गर्दा यातायात सञ्चालन गरी काम गर्दा जोखिम हुने भएकाले रातिको समयमा सडक बन्द गरेर काम गर्न लागेको हो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले सडक बन्द हुने विषयको सूचना प्रभावकारी रुपमा सम्प्रेषण गरी सम्बन्धित नियामक निकाय, समन्वय गर्ने निकाय, यातायात सेवा कम्पनी, राजमार्ग प्रयोगकर्तालाई पूर्ण जानकारी गराउने निर्णय गरेको छ ।

सिद्धबाबामा सुरुङ मार्ग निर्माण कार्यको पूर्व तयारीको काम रामापिथेकस पार्क र पाल्पातर्फको माथिल्लो सिद्धबाबा क्षेत्रमा डाइभर्सन निर्माणको काम भइरहेकाले सय दिनसम्म सडक बन्द गरेर काम गर्न दिइने प्रजिअ काफ्लेले बताए । आकस्मिक रुपमा यात्रा गर्नुपर्ने र हलुका सवारी साधनहरू दोभानदेखि नुवाकोट हुँदै बेलबास जान सकिन्छ ।

सिद्धबाबामा सुरुङ मार्ग निर्माणको जिम्मा पाएको कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङ मार्गको ठेक्का पाएर एक वर्षअघिदेखि काम सुरु गरेको छ । सुरुङ मार्गको दूरी दोभानदेखि सिद्धबाबासम्म एक हजार एक सय २६ मिटरको रहनेछ ।

अहिले सञ्चालनमा रहेको सडकमा भने रकनेट र रकसेडका काम हुनेछन् । सिद्धबाबा सुरुङ मार्ग निर्माण आयोजना प्रमुख, सडक डिभिजन, सडक पूर्वाधार विकास कार्यालय, जिल्ला समन्वय समिति, सुरक्षाप्रमुख लगायतको सहभागितामा बसेको बैठकले तानसेन–रानीमहल सडक खण्डको बैकुण्ठे पहाड लगातका स्थानमा सडक मर्मत गर्न एक महिना सडक बन्द गर्न माग गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद