Media Network

शासक भएर होइन, सेवक भई काम गर्छुः स्यानी चौधरी


सुष्मिता भण्डारी

१६ जेष्ठ २०७९,सोमबार

दाङ् तुल्सीपुर उपमहानगरपालिकाको उपमेयर पदमा निर्वाचित स्यानी चौधरी सबैकी दिदी हुन् । दाङमै ‘दिदीघर’ नामको बाल संरक्षण गृह सञ्चालन गर्दै आएकी स्यानीलाई भेट्न जाँदा दिदीघरमै भेटिइन् । सोमवारदेखि उपमेयरको कार्यभार सम्हाल्न लागेकी उनी तुलसीपुरमा पहिलो पटक थारू महिलाको प्रतिनिधित्व गर्दैछिन् । कुनै राजनीतिक पृष्ठभूमि नभएकी स्यानी उपमेयरमा निर्वाचित भएपछि सबैको ध्यान उनीतर्फ खिचिएको छ । बेसहारा बालबालिकाको सहारा बनेकी स्यानीलाई अब भने बालबालिकाको मात्र नभई तुल्सीपुरबासीकै जिम्मेवारी बढेको छ । आफ्नो प्रारम्भिक शिक्षाकै लागि परिवारसँग नै ठूलो संघर्ष गर्नुपरेको ५० वर्षीया स्यानीले राजनीतिशास्त्रमा स्नातक तथा समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर गरेकी छन् । अमेरिका, जापान, डेनमार्कमा नारीवाद, प्रजातन्त्र र गुणस्तरीय शिक्षासम्बन्धी अध्ययन गरेकी स्यानी चौधरीसँग उपमेयर निर्वाचित भएपछिको आगामी योजनाबारे सुष्मिता भण्डारीले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।  

– तपाईं प्रारम्भिक शिक्षा अध्ययनकै लागि समाज र परिवारबाटै संघर्ष गरेर यहाँसम्म आइपुग्नुभयो । अहिले कसरी ब्यक्त गर्नु हुन्छ ? 

अहिलेको जेनेरेशन धेरै परिवर्तन भइसकेको छ । आज भन्दा झण्डै २९/३० वर्ष अघि अशिक्षाको कारण मैले मैले धेरै कष्ट सामना गर्नुपर्यो । ग्रामीण क्षेत्रमा रहेर पढाई गर्नका लागि असुविधा थियो । त्यसैले मैले धेरै कष्ट झेल्नु पर्यो, संघर्षपूर्ण रहे । तर आहिले हरेक आमाबाबु र तिनका परिवार सबै शिक्षित हुनुहुन्छ । आफ्ना छोराछोरीलाई एक असल नागरिक बनाउनतर्फ जागृत छन् । छोरा हुन् वा छोरी दुवैलाई सम्मानपूर्वक हेर्न सिक्नुपर्छ । दुवैलाई राम्रो शिक्षादिक्षा दिनु पर्छ । खासगरी छोरीहरुलाई अर्का घर जाने जात भनेर यदाकदा हेयको दृष्टिले हेर्ने गरिन्छ । छारीलाई सख्त अवरोध नगरौँ अघि बढ्न हौसला र माया दिउँ भन्ने नै हो । 

–अहिले देशभर महिला तथा बाल अधिकार हनन्का घटनाहरु दिनप्रतिदिन बढिरहेका छन् । यसबारेमा तपाईँको दृष्टिकोण ? 

सर्वप्रथम त अभिभावक, सरकार, न्यायपालिका सबै यसबारेमा सचेत हुनैपर्छ । अहिले यस्ता घटनाहरु दिनप्रतिदिन बढ्नु दुखद कुरा हो । हामी यस्ता घटनालाई सामान्य वा खेलाँची गर्नु हुदैन । यस्ता घटनाहरु प्रायः अभिभावकको कमजोरीका कारण हुने गर्दछन् । घटनाप्रति सुरुमा अभिभावक नै सचेत हुनुपर्छ । सचेत अभिभावकको छोराछोरीलाई यस्तो समस्या हुँदैन । अचेत अभिभावकको छोराछोरीलाई मुख्य रुपमा यस्तो समस्याले घेरेको हुन्छ । यस्तो घटनामा घरपरिवार, समाज, सरकार सबै नै जिम्मेवार हुन्छ । सचेत सबै नागरिक मिलेर संयुक्त अभियान चलाउनु आवश्यक ठान्छु । 

– खासगरी तपाई शिक्षाका लागि निकै संघर्ष गरेको मान्छे, नगर जनप्रतिनिधिको हैसियतमा नगरपालिकामा शैक्षिक सुधान तथा विद्यालय भर्ना सन्दर्भमा कस्तो योजना बनाउनु भएको छ ? 

सोमबारदेखि सुरु हुने सरकारी कार्यविधिमा शिक्षा पहिलो चरणमा रहनेछ । सरकारी विद्यालयमा भर्ना मासिक शुल्कदेखि पाठ्यपुस्तक सबै निःशुल्क हुनपर्छ । शिक्षक शिक्षिका लगायत अभिभावक सबैलाई प्रशिक्षण हुनुपर्छ । विद्यालयमा गुणात्मक शिक्षाचाहिँ हुनुपर्छ । कुनै किसिमको बाधाअड्चन बिना पठनपाठन संचालन हुन्छ । शिक्षाका लागि म आफूले गरेको संघर्षलाई सम्झिएर यसका लागि लाग्ने मेरो प्रण छ । 

– बेरोजगारी पनि अर्को समस्या छ, नगरमा रोजगारी सिर्जना गर्ने सन्दर्भमा केही योजना छ कि ? 

रोजगारको बारेमा अहिले खासै सोचेको छैन । जागिर खान सबैले पढेकै हुनुपर्छ । आफूले के  गर्न सक्छु र के  गर्नेबारे लक्ष्य तय हुनुपर्छ । धेरै जसोको लक्ष्य भनेको सरकारी जागिर खाने नै हुन्छ । तर किसान भएर खेतीपाती गरेर पनि जीवन धान्न सकिन्छ । मेरो विचारमा रोजगार भनेको सक्षमता हो । सक्षम व्यक्तिले जे गरेर पनि जीवन निर्वाह गर्न सक्छ ।


– तपाईँ सामान्य किसान परिवारको मान्छे, शिक्षा तथा बालबालिकाको क्षेत्रमा विज्ञता हासिल गर्नु भएको एउटा समाजसेवी पनि हुनुहुन्छ । अहिले चाँही राजनीतिमा कसरी प्रवेश गर्नुभयो ? 

मेरो राजनीतिक बुझाइ अलि फरक छ । पहिले अलिअलि रुपमा मात्र बुझेकी थिएँ, अहिले पूर्ण रुपमा नै बुझ्ने अवसर पाएकी छु । सोमबार (जेठ १६ गते) बाट नियमित रुपमा कार्यभार सम्हाल्दै छु । आफू सक्षम भएपछि सफलता पाउन कठिन छैन । आफूमा धैर्यता, सक्षमता र प्रतिभा छ भने अघि बढ्न समस्या हुँदैन । मैले राजनीतिक शास्त्र पढेकी हुँ । राजनीतिक विषयबाट नै एउटा संस्थामा कम गरँे, त्यसमा सानो एउटा बजेट हुन्छ । त्यही संस्थाबाट पाएको अनुभवले नै मलाई माथि उठ्न मद्दत गर्यो । हामी जस्तो सक्षम नागरिक नेतृत्वमा आउन जरुरी थियो । अब राज्यको जिम्मेवार पदमा रहेर काम गर्ने अवसर पाएको छु । राज्यको नीतिनियम अनुसार नै समाज अनि देश परिवर्तन गर्न सकिन्छ भन्ने मेरो विश्वास छ ।

– बेसहारा बालबालिकाको सहारा बन्नु भएको तपाईँ ‘दिदीघर’मा आश्रय लिएर बसेका बालबालिकाकोबारेमा चाहीँ अब के सोँच्दै हुनुहुन्छ ?  

यसको विषयमा अहिले नयाँ केही सोंचेको छैन । मैले पहिले जसरी घर चलाउदै आएको थिएँ, अब आउने दिनहरुमा पनि सामान्य रुपमा निरन्तरता दिनेछु । मैले पद पाएँ भन्दैमा घर छाडेर जाँदिन । अझ यसलाई माया ममताको रुपमा अघि बढाउने छु । संरक्षण गृहका बालबालिकाको भविष्यप्रति म जति चिन्तित र गम्भीर छु, त्यति नै आगामी दिनमा पनि रहने छु । 

– सामाजिक क्षेत्रमा एउटा स्वच्छ छवि बनिसकेको मान्छे सबैको स्यानी दिदी, अब उपमेयरका रुपमा कस्तो कस्तो योगदान गर्छु भन्ने लागेको छ ? 

जसरी समाजिक क्षेत्रमा रहेर काम गरेँ, राजनीतिक क्षेत्र पनि त्यो भन्दा भिन्न रहन्छ भन्ने लाग्दैन । राजनीतिक क्षेत्रमा पनि इमान्दारका साथ काम गरि एउटा छुट्टै पहिचान बनाउने नै छु । पद होइन, सेवा गर्न पाएँ, यहि मेरो लागि अहोभाग्य हो । देश र समाजको लागि योगदान दिनेछु । भावी योजनाप्रति आभार छु, सेवा गरेर जनताको मनमा बस्न चाहन्छु ।

– अबको ५ वर्षे कार्यकालमा तुलसीपुर उपमहानगरको विकासका लागि तपाईंको केही नयाँ योजना छ ? 

यस  ५ वर्षे कार्यकालमा समाजमा परेको अभावको परिपूर्ति गर्ने नै मेरो योजना हो । पालिकाभित्रका सरकारी विद्यालय, विद्युत, सरकारी हस्पिटल लगायतमा गुणस्तरीय सेवा प्रदान गर्नेमा अभिभावकीय भूमिका खेल्ने छु । वृद्धाहरुलाई सास्ती नहुने तरिकाले भत्ता दिलाउने छु । गाउँ घरमा विशेष रुपमा महिलालाई आयमूलक सीप तालिमको व्यवस्था सुरु गर्नेछु । म फेरि पनि भन्छु, शासक भएर होइन सेवक भई काम गर्नेछु । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद