Media Network

उपनिर्वाचन: पृथ्वीराजमार्गको तनहुँ–१ खण्ड पूर्णरूपमा बन्द


खबरस्टोरी संवाददाता

१० बैशाख २०८०,आईतवार

तनहुँ । पृथ्वीराजमार्गको तनहुँ–१ खण्ड तथा स्थानीय राजमार्ग पूर्णरूपमा बन्द भएको छ । आज हुने उपनिर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सबै सडकमा यातायात सञ्चालनमा रोक लगाएको हो ।

मुग्लिन पुलबाट व्यास नगरपालिकाको चापाघाटसम्म, डुम्रे–बेँसीसहर सडकखण्ड, आँबुखैरेनी–गोरखा सडकखण्ड, दमौली–दुईपिप्ले सडकखण्डलगायत सम्पूर्ण स्थानीय सडकमा यातायात बन्द रहने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए। तनहुँ जिल्ला भएर सञ्चालन हुने रात्रिबस बिहान ४ बजेअगावै जिल्ला पार गरिसक्न प्रशासनले आग्रह गरेको छ ।

उक्त दिन दमकल, एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दूध बोक्ने सवारीसाधन, शववाहन, फोहरमैला ओसार्ने सवारीसाधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको पत्रसहित चलेको सवारीसाधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेसपास भएको पत्रकार चढेको सवारी भने निर्वाध सञ्चालन हुनेछ ।

तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनका लागि एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । यो निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद