Media Network

वीरगञ्जस्थित कृषि औजार कारखानाका ५४ वटा मध्ये ४३ वटा मेसिन चल्ने


खबरस्टोरी संवाददाता

२२ कार्तिक २०७९,मंगलवार

काठमाडौं । वीरगञ्जस्थित कृषि औजार कारखानाका ५४ वटा मध्ये ४३ वटा मेसिन चल्ने अवस्थामा रहेको पाइएको छ । सरकारले यो कारखानाको सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको थियो । 

आविष्कार केन्द्रले पहिलो चरणको सरसफाइ र मर्मत सम्भारको काम सम्पन्न गरेको छ । पहिलो चरणको कामपछि प्राप्त प्रारम्भिक प्रतिवेदन अनुसार कारखानामा ५४ वटा मेसिन रहेकोमा ४३ वटा मेसिन चल्ने अवस्थामा रहेको केन्द्रका सञ्चालक महावीर पुनले जानकारी दिएका छन् ।

उनका अनुसार यी मेसिनलाई मर्मत गर्दा चल्ने अवस्था देखिएको हो । यद्दपि यी मेसिनबाट मात्र कारखाना भने नचल्ने समेत उनले उल्लेख गरेका छन् । यी औजार पुरानो प्रविधिका रहेको र यसको क्षमता समेत कम हुने उनको भनाइ छ । कारखानालाई पूर्ण रुपमा चलाउन अत्याधुनिक प्रविधि भित्राउनु पर्ने उनले उल्लेख गरेका छन् । यसका लागि नेपाल सरकारसँग अपेक्षा गरिएको उनको भनाइ छ ।

सरकारले १० वर्षका लागि कारखाना केन्द्रको जिम्मा लगाएको छ । ३१ भदौको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो । सोही अनुसार केन्द्रले कारखानामा सरसफाइ तथा उपकरणहरुको चेकजाँच थालेको हो । अर्थ मन्त्रालय र केन्द्रबीच भएको सम्झौता अनुसार मेसिनरी औजार थप गर्न आवश्यक रकम समेत कारखाना सञ्चालक समितिको सिफारिसका आधारमा नेपाल सरकार, अर्थ मन्त्रालयले बजेट उपलब्ध गराउने छ । केन्द्रले आधुनिक कृषि औजार उत्पादन र बिक्रीको जिम्मा पाएको छ । 

बिक्री वितरणबाट प्राप्त भएको रकम कारखानाको सञ्चालन तथा स्तरोन्नतिमा खर्च गर्ने गरी कोषमा राख्ने र बाँकी ५० प्रतिशत नेपाल सरकारको राजस्व खातामा राख्ने गरी सहमति भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद