Media Network

विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब २८ करोड ५० लाख


खबरस्टोरी संवाददाता

१० असार २०८०,आईतवार

काठमाडौँ।विराटनगर महानगरपालिकाले ३ अर्ब २८ करोड ५० लाख रुपैयाँका बजेट प्रस्तुत गरेको छ । उपप्रमुख कार्कीले महानगरको नीति कार्यक्रम र आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट (वार्षिक अनुमानित आय तथा व्यय विवरण) प्रस्तुत गरेकी हुन् । जसमा चालू खर्चतर्फ १ अर्ब ५१ करोड ८३ लाख, पुँजीगततर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार तथा वित्तीय व्यवस्थातर्फ ऋणको सावा ब्याज भुक्तानी ५ करोड विनियोजन गरेको छ । 

उक्त खर्च बेहोर्ने स्रोतमा महानगरपालिकाले संघीय सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत १ अर्ब १९ करोड २४ लाख, प्रदेश सरकारबाट ४ करोड ५१ लाख ६३ हजार, राजश्व बाँडफाँडबाट  ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आम्दानीबाट ९९ करोड ५० लाख, जनसहभागिताबाट १० करोड, आन्तरिक ऋणबाट १० करोड र अन्य संघ संस्थाबाट ३ करोड र नगद मौज्दातबाट २ करोड रुपैयाँ हुने अनुमान गरेको छ । 

आर्थिक वर्ष ०७९/८०मा महानगरले  लक्ष्य भेट्न सकेको थिएन।

महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को भन्दा ८८ करोड ५९ लाख ९८ हजार रुपैयाँ कम गरेर आगामी वर्षको बजेट प्रस्तुत गरेको हो । चालु आर्थिक वर्षमा महानगरको संशोधित बजेट ४ अर्ब १७ करोड ९ लाख ९८ हजार रुपैयाँ थियो । तर, महानगरपालिकाले चालु वर्षको जेठ मसान्तसम्म २ अर्ब ८६ करोड ८३ लाख रुपैयाँ मात्र यथार्थ आम्दानी गरेको छ ।

महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा ४ अर्ब २५ करोड १४ लाख ६० हजारको बजेट ल्याएको महानगरको यथार्थ आय भने २ अर्ब १८ करोड ३४ लाख मात्रै थियो । यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा संशोधित बजेट ४ अर्ब ७२ करोड ९ लाख ७९ हजार हुने अनुमान गरियो । उक्त वर्ष पनि यथार्थ आय २ अर्ब ५० करोडभन्दा बढी भएन ।

चालु वर्षमा महानगरले व्यय तर्फ पनि लक्ष्य हासिल गर्न नसकेको बजेट वक्तव्यमा उल्लेख छ । चालु वर्षमा २ अर्ब २४ करोड ८२ लाख २९ हजार ६७ रुपैयाँ मात्र यथार्थ खर्च भएको छ । पुँजीगत तर्फ २ अर्ब २७ करोड रुपैयाँ खर्च अनुमान गरेको महानगरले चालु वर्षमा जम्मा ९० करोड १९ लाख ६ हजार ६७८ रुपैयाँ मात्र खर्च गर्न सकेको हो । विराटनगरको पुँजीगत भन्दा चालु खर्च ३९ करोड रुपैयाँ भन्दा बढी भएको छ । चालुतर्फ १ अर्ब २९ करोड ८९ लाख ४० हजार ७२२ रुपैयाँ खर्च गरेको छ । चालु वर्षमा १ अर्ब ८४ करोड रुपैयाँ चालु खर्च हुने अनुमान महानगरको थियो ।  चालु वर्षको ११ महिनामा महानगरले ५१ करोड ६५ लाख ९४ हजार ९१९ रुपैयाँ मात्रै आन्तरिक आम्दानी गरेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद