Media Network

यसरी मनाइयो शहीद दिवस (तस्बिरहरू)


खबरस्टोरी संवाददाता

१६ माघ २०७९,सोमबार

काठमाडौँ।प्रजातन्त्र स्थापना, पुनर्स्थापना र विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरूको सम्झनामा आज शहीद दिवस मनाइएको छ।शहीद दिवस हरेक वर्ष मनाइने भए पनि शहीदहरूका सपना पूरा गर्नेतर्फ ध्यान नपुगेका गुनासासमेत सुनिने गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए।

चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित उल्लेख गर्दै उनले शहीदका सपना पूरा गर्न आह्वान गरेका हुन्।

उनले जीवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी देशभर विविध कार्यक्रम हुँदै आएको छ।

विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।

आज बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको थियो।

प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्नुहुने शहीदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयानुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा पनि कार्यक्रम भएको थियो।

विसं २०६३ अघि शहीद दिवसका दिन राज्यका तर्फबाट शहीदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो। त्यसपछि भने लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ। शहीदगेटमा पनि विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन्।

पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा शहीदप्रति श्रद्धाञ्जली गर्ने स्थल राखिने घोषणा गरिएको छ। त्योसमेत सञ्चालनमा आउन सकेको छैन। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद