Media Network

छात्रवृत्ति विवरण पेश गर्न विद्यालयहरूलाई विराटनगर महानगरको २४ घण्टे अल्टिमेटम


खबरस्टोरी संवाददाता

८ श्रावण २०८०,सोमबार

विराटनगर । विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश गर्न विद्यालयहरूलाई २४ घण्टे अल्टिमेटम दिएको छ । विराटनगर महानगरपालिकाको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको बैठकले सोमबार कार्यालय समयभित्र छात्रवृत्तिको विवरण पेश नगर्ने विद्यालयहरूमाथि कानुनी कारबाही अगाडि बढाउने निर्णय गरेको छ ।

महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले शैक्षिक सत्र २०७९ को बालविकास कक्षादेखि कक्षा १२ सम्म र शैक्षिक सत्र २०८० को बाल विकासदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि उपलब्ध गराएको छात्रवृत्ति वितरणको विवरण हालसम्म पेश नगर्ने विद्यालयमाथि कारबाही अगाडि बढाउने निर्णय गरेको हो ।

विवरण पेश नगर्ने विद्यालयको नाम महानगरको वेभ साइटमार्फत सार्वजनिकसमेत गरेको छ ।

‘सोमबार ५ बजेसम्म छात्रवृत्तिको सम्पूर्ण विवरण पेश नगरे हामी त्यस्ता विद्यालयमाथि कारबाही प्रक्रिया अगाडि बढाउँछौँ’, मेयर कोइरालाले भने, ‘महानगरले पटक–पटक विवरण उपलब्ध गराउनका लागि ताकेता गर्दा पनि बेवास्ता गरेको पाइएको छ । अब सोमबारसम्म हेरौँ, त्यसपछि महानगर कडा रूपमा प्रस्तुत हुन्छ ।’

एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (आईईएमआईएस) अनुसार विराटनगर महानगरपालिका क्षेत्रभित्र संस्थागत विद्यालयको संख्या ८९ रहेको छ ।

त्यस्तै (आईईएमआईएस)मा दर्ता नभएका विद्यालयको संख्यासमेत जोड्ने हो भने महानगरभित्र करिब एक सयको हाराहारीमा संस्थागत विद्यालयहरू सञ्चालनमा रहेका छन् ।

त्यसमध्ये आइतबार कार्यालय समयभित्र ६५ वटा विद्यालयले शैक्षिक सत्र २०७९ को छात्रवृत्ति वितरणको विवरण पेश गरेका छन् ।

सोही शैक्षिक सत्रमा २७ वटा विद्यालयले अझै विवरण पेश गरेका छैनन् । त्यस्तै २०८० का लागि ५५ वटा विद्यालयले विवरण पेश गरेको शैक्षिक प्रशासन महाशाखाका अधिकृत रमेश खड्काले जानकारी दिनुभयो । खड्काका अनुसार २०८० का लागि ३७ वटा विद्यालयले विवरण पेश गर्न बाँकी रहेको छ ।

यसै गरी शैक्षिक सत्र २०८० मा कक्षा ११ को छात्रवृत्ति व्यवस्थापनसम्बन्धी परीक्षा महानगर आफैँले लिने तयारी गरेको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद