Media Network

एसईई नतिजाः कोभिडका कारण सबै उत्तीर्ण, ‘ननग्रेडेड’ हटाइयो


खबरस्टोरी संवाददाता

११ श्रावण २०७९,बुधबार

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)मा सबै परीक्षार्थी उत्तीर्ण गरेको छ । लेटरग्रेडिङ निर्देशिका २०७८ मा जुन कुनै विषयको सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अंक प्राप्त गरेमात्र माथिल्लो कक्षामा भर्ना हुन पाइने ‘ननग्रेडिङ’ व्यवस्था गरेको छ ।

सोही निर्देशिकाअनुसार यो वर्षको एसईई परीक्षा प्रकाशित हुने बताइए पनि अन्तिम समयमा बोर्डले ननग्रेडिङ नगरी सबै उत्तीर्ण हुने ब्यवस्था गरेको हो । 

कोभिड संक्रमणका कारण विगत दुई वर्षयता नियमित पढाई नभएर विद्यार्थीहरु मर्कामा परेको कारण जनाउँदै बोर्डले एसईईको लब्ध्याङ्कपत्रमा ‘ननग्रेडिङ’ अर्थात एनजी उल्लेख हुने व्यवस्था हटाएको छ ।

कोभिडका कारण विद्यार्थीले कक्षा ९ र १० को अनियमित भएका हुँदा लेटरग्रेडिङ निर्देशिका २०७८ लागू नगर्ने बोर्डले निर्णय गरेको हो । लब्ध्याङ्कपत्रमा ननग्रेडिङ गरिँदा ठूलो संख्यामा विद्यार्थीले ११ कक्षा पढ्न नपाउने भएकाले यो वर्ष यो निर्देशिका लागू नगरी लेटरग्रेडिङ पद्धति २०७२ कै आधारमा गर्न लागिएको हो । 

२०७२ अनुसार नतिजा प्रकाशित गर्दा ३० देखि ४० अंक, २० देखि ३० र २० भन्दा कम अंक ल्याउने विद्यार्थीको पनि ग्रेडिङ हुन्छ ।

शैक्षिकसत्र २०८० देखि कक्षा १० मा नयाँ पाठ्यक्रम लागू हुँदैछ । 

पुरानो ग्रेडिङ पद्धतिका कारण विद्यार्थीमा स्वतः पास हुने भएपछि पढाईमा ध्यान नदिएको भन्दै ननग्रेडिङ गर्ने गरी नयाँ निर्देशिका बनाइएको थियो । यद्यपि ग्रेड बढाउन चाहने विद्यार्थीले भने पुनः परीक्षा दिने अवसर प्राप्त गर्नेछन् । 

बुधबार दिउँसो १ बजे बोर्ड बैठक बसेपछि आज नै एसईईको नतिजा सार्वजनिक गरिनेछ ।  

यो वर्ष वैशाख ९ गतेदेखि २० गतेसम्म भएको कक्षा १० अर्थात् एसईई परीक्षामा ५ लाख १४ हजार विद्यार्थी सहभागी भएका थिए । जसमा २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र सहभागी छन् । 

यसअघि, कोभिडका कारण दुई शैक्षिक सत्र विद्यालय तहको आन्तरिक मूल्यांकनबाटै राष्ट्रिय परीक्षा बोर्डले लब्ध्याङ्कपत्र प्रदान गरेको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद