त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले कोरोना कहरले बालबालिकाको सिकाइ प्रभावकारी नभएको बताउँदै अनलाइन कक्षासमेत प्रभावकारी नभएका कारण यसपालि नतिजा खस्केको दाबी गरे। ‘कोरोना कहर २०७८ मा पनि कायमै थियो। तीन महिना मात्र भौतिक उपस्थितिमा कक्षा चल्यो। दूरदराजमा अनलाइन कक्षा प्रभावकारी भएन। विश्वनिकेतनमा पनि अनलाइनमा विद्यार्थीको उपस्थित ३० प्रतिशतभन्दा बढी भएन,’ प्रधानाध्यापक कँडेलले भने, ‘पाठ्यक्रमअनुसार अध्ययन पूरा भएन। उनीहरूले प्रशस्त अभ्यास गर्न पाएनन्।’
२०७५ सालमा ३.६ देखि ४.० जिपिए ल्याउने कुल परीक्षार्थी ३.८३ प्रतिशत थिए तर यसपालि भने यो ग्रेड ल्याउने विद्यार्थी जम्मा १.९४ प्रतिशत छन्। त्यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने परीक्षार्थी २०७५ सालमा ११.१३ प्रतिशत रहेकोमा यसपटक ८.४ प्रतिशत मात्र छन्। यसभन्दा तलको जिपिए ल्याउने परीक्षार्थी भने २०७५ सालमा भन्दा यसपालि बढी छन्। २.८ देखि ३.२ जिपिए ल्याउने परीक्षार्थी २०७५ सालमा १३.८८ प्रतिशत रहेकोमा २०७८ मा १४.१० प्रतिशत छन्। २.४ देखि २.८ जिपिए ल्याउने परीक्षार्थी २०७५ सालमा १६.६४ प्रतिशत रहेकोमा २०७८ सालमा १८.३१ प्रतिशत छन्। २ देखि २.४ जिपिए ल्याउने २०७५ सालमा २१.३८ प्रतिशत र २०७८ सालमा २२.७४ प्रतिशत रहेको बोर्डले जनाएको छ। २०७८ को एसइईमा ४ लाख ९५ हजार ७ सय ५१ परीक्षार्थी सहभागी थिए।
कोरोना कहरका कारण २०७६ र २०७७ सालमा विद्यालयहरूले आन्तरिक रूपमै मूल्यांकन गरी उपलब्ध गराएको नतिजालाई बोर्डले प्रमाणीकरण गरी नतिजा प्रकाशित गरेको थियो। त्यही भएर यहाँ बोर्डले सञ्चालन गरेको नतिजा मात्र तुलना गरिएको छ। २०७५ सालमा बोर्डले एसइई सञ्चालन गरेको परीक्षाको नतिजा र २०७८ सालमा बोर्डले सञ्चालन गरेको परीक्षाको नतिजा तुलनात्मक रूपमा अध्ययन गर्दा समग्रमा विद्यार्थीको सिकाइ स्तर खस्केको प्रस्ट भएको छ।
बोर्डले सार्वजनिक गरेको नतिजामा जिपिए ३.६–४ अर्थात् ९० भन्दा माथि अंक प्राप्त गर्ने विद्यार्थीको संख्या ९ हजार ६ सय ३३ छ। यो कुल परीक्षार्र्थीको १.९४ प्रतिशत मात्र हो। उच्च ग्रेडमा विद्यार्थी घट्दै गएको र कम ग्रेडमा उत्तीर्ण विद्यार्थी बढ्दै गएको देखिएको छ। प्रकाशित नतिजाले छात्रा पनि कमजोर रहेको देखाएको आजको नागरिक दैनिक खबर छापेको छ ।