Media Network

एसईईको नतिजा यसै साता सार्वजनिक गर्ने


खबरस्टोरी संवाददाता

१ श्रावण २०७९,आईतवार

काठमाडौँ।  राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यही हप्ता एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । चुनावको कारण देखाउँदै राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा यही पहिलो सातामात्र सार्वजनिक गर्ने भएको हो। 

परीक्षा नियन्त्रक अर्जुन रायमाझीका  अनुसार यही हप्ता नतिजा सार्वजनिक गर्न सकिने सम्भावना रहेको छ । ‘नतिजा प्रकाशनको लागि अन्तिम/अन्तिम चरणको काम गरिरहेका छौं,’ उनले भने, ‘त्रुटि कम्ति होस् भनेर रुजु गर्ने काम भइरहेको छ, साउन पहिलो साता विद्यार्थीले नतिजा प्राप्त गर्ने सम्भावना धेरै छ ।’ 

विगतका वर्षमा विद्यार्थीको सिम्बोल नम्बर, जन्ममिति, नामथरलगायत विवरणमा धेरै त्रुटि भएर उनीहरुले सच्याउन दुःख पाउने भएकाले नतिजाअघि नै अधिकतम जाँच गर्न लागिएको उनले बताए । विवरण फरक परे सच्याउन देशभरका विद्यार्थी भक्तपुर सानोठिमीस्थित कार्यालय नै आउनुपर्ने बाध्यता छ । बोर्डका प्रादेशिक कार्यालयमा यी विवरण उपलब्ध नहुँदा त्यहाँबाट सच्याउन सकिँदैन ।

५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् । त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् ।

वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए । बोर्डले असार मसान्तभित्रै नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि स्थानीय तहको निर्वाचन, बाढी पहिरोलगायत कारणले केही दिन ढिला हुन पुगेको जनाएको छ । यो वर्ष नयाँ लेटर ग्रेडिङ पद्धतिअनुसार एसईईलगायत कक्षा (१–१२) को नतिजा सार्वजनिक तयारी छ । लेटरग्रेडिङ निर्देशिका २०७८ अनुसार कुनै पनि विषयको परीक्षामा न्यूनतम ३५ प्रतिशत अंक प्राप्त नगरे माथिल्लो कक्षामा अध्ययन गर्न पाइने छैन । जुन कुनै विषयको सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अंक प्राप्त गरेमात्र माथिल्लो कक्षामा भर्ना हुन पाइन्छ ।

सैद्धान्तिकतर्फ ३५ प्रतिशत अंक प्राप्त नगर्ने विद्यार्थीको ग्रेडसिटमा ‘नन ग्रेडिङ (एनजी)’ उल्लेख हुनेछ । यस्ता विद्यार्थीले उपल्लो कक्षामा पठनपाठन गर्न पाउने छैनन भने ३ पटकसम्म ग्रेडवृद्धि परीक्षाको अवसर पाउनेछन् । दुईभन्दा बढी विषयमा न्यूनतम ग्रेड प्राप्त नगर्ने विद्यार्थीले अर्को वर्ष सबै विषयको परीक्षामा संलग्न हुन वा सोही कक्षामा पुनः अध्ययन गर्न पाउने व्यवस्था निर्देशिकामा गरिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद