Media Network

महालेखापरीक्षक इतिहासमा पहिलो पटक महिला उमेद्वारको दाबेदारी


खबरस्टोरी संवाददाता

१८ भाद्र २०८०,सोमबार

काठमाडौँ । रिक्त रहेको महालेखापरीक्षकको लागि पहिलो पटक महिला उमेद्वारको दाबेदारी प्रस्तुत भएको छ । महालेखापरीक्षक ६५ वर्षे इतिहासमा पहिलो पटक महिला उमेद्वारको दाबेदारी प्रस्तुत भएको हो ।

महालेखापरीक्षकको कार्यालयमा २० वर्ष कार्य गरेकी राममाया कुँवरले महालेखापरीक्षकको लागि दाबेदारी प्रस्तुत गरेकी हुन् । निजामती सेवामा ३१ वर्षको कार्य अनुभव भएकी कुँवरले कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी समेत निर्वाह गरिसकेकी छन् । २०२४ सालमा लमजुङमा जन्मिएकी कुँवरले मुखियादेखि सचिवसम्मको जिम्मेवारी निर्वाह गरिसकेकी छन् ।

महालेखापरीक्षकको लागि १६ जनाले दाबेदारी प्रस्तुत गरेकोमा उनी मात्र आवेदन दिने एक्ली महिला हुन् । गत साउनमा महालेखापरीक्षकको कार्यालयबाटै सेवा निवृत्त भएकी कुँवरले निवर्तमान महालेखापरीक्षक टङ्कमणि शर्मा दंगाल सेवाबाट हटेपछि केही समय कार्यवाहकको रूपमा भूमिका निर्वाह गरेकी थिइन् ।

राममाया २०४९ साल जेठ १ मा वन विभागमा मुखिया पदबाट निजामती सेवामा प्रवेश गरेकी थिइन् । उनले २०५३ सालमा खरिदार पदमा नाम निकालिन् भने २०५९ साल चैत्रमा शाखा अधिकृतका रूपमा महालेखापरीक्षकको कार्यालयमा प्रवेश गरेकी थिइन् । उनले २०६७ सालमा उपसचिव र २०६९ मा सहसचिवमा नाम निकालिन् ।

२०७५ साउन २३ गते विशिष्ट श्रेणी अर्थात् सचिवसरह उपमहालेखापरीक्षकमा बढुवा भएकी राममायाले करिब साढे दुई महिना कार्यवाहक महालेखापरीक्षक जिम्मेवारी समेत निवार्ह गरिन् । उनले गत साउन २३ मा अवकाश लिएकी हुन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद