Media Network

परीक्षा सञ्चालनमा भएको त्रुटिबारे त्रिविको प्रतिक्रिया - छानबिन गरी यथार्थ सार्वजनिक गर्छौं


खबरस्टोरी संवाददाता

९ श्रावण २०८०,मंगलवार

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले सोमबार सञ्चालित स्नातक तह चारवर्षे ‘इन्ट्रोडक्सन टु टुरिजम डेभलपमेन्ट’ विषयको परीक्षामा भएको त्रुटीबारे छानबिन गरी यथार्थ जानकारी सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ। परीक्षा नियन्त्रण कार्यालयले विज्ञप्ति जारी गर्दै यस्तो प्रतिबद्धता जनाएको हो।

बीए तेस्रो वर्षअन्तर्गत हिजो ‘इन्ट्रोडक्सन टु टुरिजम डेभलपमेन्ट’ विषयको परीक्षामा त्रिविले अर्कै विषयको प्रश्नपत्र बाँडेपछि विद्यार्थीहरू अलमलमा परेका थिए। त्यसपछि विद्यार्थीहरूले आवाज उठाए।करिब एक घण्टा लगाएर सम्बन्धित विषयको प्रश्नपत्र दिइएको थियो तर त्रिविले भने आधा घण्टामै सम्बन्धित विषयको प्रश्न पुर्‍याइ प्रश्नपत्र बाँडेको दाबी गरेको छ।

त्रिविका अनुसार परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा ८ गतेका दिन संचालित मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत ४ वर्ष बीए तेस्रो वर्षको ऐच्छिक विषय इन्ट्रोडक्सन टु टुरिजम डेभलपमेन्ट विषयको परीक्षा सञ्चालन गर्दा प्राविधिक त्रुटिका कारण २८ गतेका दिन सम्पन्न भइसकेको हिष्ट्री अफ मोर्डन इन्डिया विषयको प्रश्नपत्र समावेश भएको थियो।उक्त जानकारी प्राप्त भएपछि तुरुन्तै सम्बन्धित विषयको प्रश्नपत्र वितरण गरिएको त्रिविले दावी गरेको छ।

‘परीक्षा संचालन भएको आधा घण्टामा सबै केन्द्रमा उक्त प्रश्नपत्र पठाई परीक्षा सुचारु भएको व्यहोरा जानकारी गराउँदछु, २९ वटा ऐच्छिक विषयमध्ये कुनै दुई वटा विषयहरू ९जुन प्रथम, द्वितीय र तृतीय वर्षमा अध्ययन नगरेका विषयहरु० छनोट गर्नुपर्ने कारण परीक्षाको अवधि छोटो बनाउन ४ र ८ गतेका दिन ऐच्छिक प्रथम र द्वितीय विषय छनोट गर्नुपर्ने व्यवस्था अनुसार दुवै दिन २९ वटै विषयको प्रश्नपत्र सम्बन्धित परीक्षा केन्द्रमा पठाइएकोमा ८ गतेको प्रश्नपत्र ४१० को कन्टेन्टमा ४२५ को कन्टेन्ट समावेश हुन गएको अवस्थामा उक्त घटना घट्न गएको हो,’ परीक्षा नियन्त्रक पुष्पराज जोशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

परीक्षा अवधिमा नै समस्या समाधान भइसकेको तर देशभरका ३० वटा केन्द्रमा संचालित परीक्षाका ८६९ परीक्षार्थीहरूलाई परीक्षा संचालनमा पुग्न गएको अप्ठ्यारो परिस्थितिप्रति त्रिवि पनिकाको गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन्।‘यस विषयमा विस्तृत छानबिन गरी यथार्थ विवरण सार्वजनिक गरिने प्रतिबद्धतासहित मानविकी तेस्रो वर्षको अन्तिम परीक्षाको दिन घटेको यो घटनालाई मध्यनजर गर्दै अब उप्रान्त यस्ता त्रुटिहरू नदोहरिने गरी व्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद