Media Network

स्ववियु निर्वाचन : आज उम्मेदवारी फिर्ता लिने दिन


खबरस्टोरी संवाददाता

२९ फाल्गुन २०७९,सोमबार

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उम्मेदवारी फिर्ता लिने समय आज छुटाइएको छ । त्रिभुवन विश्वविद्यालयका अनुसार गत फागुन २७ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुका लागि अपरान्ह १ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय सिमा छुटाईएको हो ।
कार्यतालिकाअनुसार आज सोमबार दिनको १ बजे उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय र दिनको २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने र छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने तालिका थियो । कार्यतालिका अनुसार चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।
स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ । शनिवार समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी नामावली दाखिला र प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गर्ने काम भएको थियो । तर, उपत्यका र उपत्यका बाहिर ७–७ वटा क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।

उपत्यकाभित्र पाटन, नेपाल कमर्स, त्रिचन्द्र, सरस्वती, आयुर्वेद, आरआर, विश्व भाषा क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । त्रिचन्द्र र आयुर्वेद क्याम्पसमा भर्नाको समय सकेपछि नयाँ भर्ना लिएको भन्दै एक सातादेखि विवाद छ । विवादका कारण निर्वाचनको कुनै पनि काम अघि बढ्न सकेको छैन । सरस्वती, आरआर, पाटनमा विद्यार्थी संगठनबीच आपसी द्वन्द्वको कारण समस्या देखिएको छ  ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय प्रमुख प्रा। डा। पशुपति अधिकारीका अनुसार देशैरभका ६२ आंगिकमध्ये ५० भन्दा बढी क्याम्पसमा उम्मेदवारी दर्ता प्रक्रिया पूरा भएको छ । उपत्यका बाहिर पृथ्वीनारायण पोखरा, पाल्पा, चितवन, वीरगन्जको ठाकुरराम, सिराहा, धौलागिरि क्याम्पस वागलुङगलगायत केही क्याम्पसमा निर्वाचन अनिश्चित भएको छ । 

ती क्याम्पसहरूमा कहिले निर्वाचन हुन्छ भन्ने विषयमा टुङ्गो नलागेको उनको भनाइ छ । स्ववियु निर्वाचन निर्देशिकामा निर्वाचन स्थगित भए त्यसको ३० दिनभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यकारी व्यवस्था छ  । ३० दिनभित्र निर्वाचनको दिन तोक्ने अधिकार क्याम्पस प्रमुखलाई दिइएको छ ।

६२ वटा आंगिक क्याम्पस मध्ये गोरखा क्याम्पस र धनकुटा क्याम्पसमा निर्विरोध स्ववियु नेतृत्व चयन भएको छ । यस्तै सामुदायिक क्याम्पसतर्फ ५० भन्दा बढीमा निर्विरोध नेतृत्व चयन भएको छ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद