Media Network

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अन्तरिक्ष विज्ञान शाखा स्थापना


खबरस्टोरी संवाददाता

२० भाद्र २०७९,सोमबार

काठमाडौँ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अन्तरिक्ष विज्ञान शाखा खोलेर खगोल एवं अन्तरिक्ष विज्ञानसम्बन्धी कामलाई अघि बढाएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) १६औँ वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा मन्त्रालयका उपसिचव एवं शाखा प्रमुख सन्तोष शर्माले खगोल एवं अन्तरिक्ष विज्ञानका विषयमा हुने गतिविधिलाई एकीकृत गर्न लागिएको जानकारी दिए । 

शाखामार्फत् खगोल र अन्तरिक्ष विज्ञान विषयमा काम गर्ने संस्थालाई एकीकृत गरी काम गरिने उनको भनाइ थियोे ।

नेपालमा खगोल विज्ञानलाई प्रवद्र्धन गर्न नासोले विद्यालय एवं महाविद्यालय तहका विद्यार्थी बीचमा विभिन्न गतिविधि गर्दै आएको छ । कक्षा आठदेखि खगोल विज्ञानसम्बन्धी ओलम्पियाड प्रतियोगिता, चित्रकला, वक्तृत्वकलालगायत कार्यक्रम गर्दै आएको कार्यक्रममा जानकारी गराइएको थियो ।

यसले गर्दा खगोल विज्ञानका विषयमा विद्यार्थीमा जिज्ञासा बढाएको छ । 

कार्यक्रममा नास्टका इञ्जिनीयर रोशन पाण्डे, अभिभावक पङ्कजकुमार कर्ण, विज्ञान शिक्षिका सरिता शाक्य प्रधान र रुपा मानन्धरलगायतले नेपालमा खगोल एवं अन्तरिक्ष विज्ञानका बारेमा अध्ययन, अनुसन्धान गर्ने गराउने वातावरण बनाउन माग गरेका थिए ।

कार्यक्रममा नासोले विभिन्न समयमा आयोजना गरेका गतिविधिमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान पनि गरिएको थियो । नासोले मन्त्रालय, नास्टलगायत विज्ञानका विषयमा काम गर्ने सरकारी एवं गैरसरकारकारी संस्थासँग सहकार्य गरी आफ्ना गतिविधि अघि बढाउँदै आएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद