Media Network

त्रिविले नवीकरण नगर्ने १७८ क्याम्पसको सम्बन्धन खारेज गर्ने


खबरस्टोरी संवाददाता

२८ असार २०८०,बिहीबार

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले एक सय ७८ क्याम्पसको सम्बन्धन खारेज गर्ने प्रक्रिया अघि बढाएको छ । डेढ वर्षदेखि नवीकरण नगरेका र पटक–पटक ताकेता गर्दा पनि सम्पर्कमै नआउने ती क्याम्पसको सम्बन्धन खारेजीका लागि प्रक्रिया अघि बढाएको त्रिवि प्रशासनले जनाएको छ ।

त्रिवि उपकुलपति धर्मकान्त बास्कोटाका अनुसार सम्पर्कमा नआउने क्याम्पसहरूको सम्बन्धन खारेज गर्नेबारे प्रशासनले तयारी थालेको हो । नवीकरण गर्न नआएका क्याम्पसहरू हाल सञ्चालनमै रहेको त्रिविले जनाएको छ । त्रिविले परीक्षा नियन्त्रण कार्यालयसँग सञ्चालनमा रहेका क्याम्पसहरूले कुन–कुन कार्यक्रम सञ्चालन गरिरहेका छन् भन्नेबारे तथ्य पनि माग गरेको छ ।

सम्बन्धन खारेजका लागि प्रक्रिया अगाडि बढाइएकामा आदर्श कन्या क्याम्पस, मंगलबजार, अचिभर्स कलेज, बुटवल, आदर्श सामुदायिक क्याम्पस, घैलाडुब्बा, एइम्स कलेज बुटवल, आलमदेवी वाणिज्य क्याम्पस, कालिकोट, अल्पाइन कलेज, धरान, अमरदीप क्याम्पस, वीरेन्द्रनगर, अनमोल राष्ट्रिय क्याम्पस, नयाँबजार, अप्लाइड कलेज अफ म्यानेजमेन्ट, विराटनगर, असाननैया कलेज, सुनवल, बागमती कलेज, सुकेधारा, बासु कलेज, कालीघाट, बायली सिमतार क्याम्पस, शान्तिनगर, भाषा कलेज, कागते, विज्ञान अध्ययन कलेज जनकपुर, विहुकोट अमर क्याम्पस, बिहुकोट, बिरुवा बहुमुखी क्याम्पस, वीरगञ्ज कलेज, क्यापिटल कलेज, काठमाडौंलगायत छन । एक हजार एक सय २४ क्याम्पसमध्ये आठ सय ८२ क्याम्पसले नवीकरण गरिसकेका छन् । अन्य ६४ वटा आंगिक क्याम्पस हुन । त्यसबाहेक एक सय ७८ क्याम्पसले नवीकरण नै नगरेपछि उनीहरूको सम्बन्धन खारेज गर्ने प्रक्रिया अगाडि बढाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद