Media Network

१९ विद्यालयका प्रधानाध्यापकले दिए सामूहिक राजीनामा


खबरस्टोरी संवाददाता

१ श्रावण २०८०,सोमबार

मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले संयुक्त रूपमा राजीनामा दिएका छन्। १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले राजीनामा दिएका हुन्।

गुणस्तर सुधारको नाममा गाउँपालिकाले विना कारण आफूहरूलाई सरुवा गर्न खोजेपछि सामूहिक रूपमा राजीनामा दिन बाध्य भएको उनीहरूले बताएका छन्। राजीनामा दिए पनि पढाउन भने नछाड्ने एक प्रधानाध्यापकले बताए। उनीहरूले दिएको सामूहिक राजीनामा साउन १ गतेदेखि लागू हुने गरी दिइएको पत्रमा उल्लेख छ। ‘सहमति विपरीतको सरुवा सजाय हो भन्ने महशुस गरी यो अन्योलको परिस्थितिले हामी सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकलाई काम गर्ने मनोबल कमजोर भइरहेको परिस्थिति छ’, राजीनामा पत्रमा उल्लेख छ ।

यता मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले भने गाउँपालिकाले गरेको सरुवाको निर्णयमा धेरै प्रधानाध्यापक सहमत भइसकेको जानकारी दिए। उनले शिक्षक महासंघका अध्यक्ष नवराज डोटेलले विषयलाई राजनीतिकरण गराएर अनावश्यक बखेडा झिक्न खोजेको दाबी गरे।‘अहिले सार्वजनिक गरिएको राजीनामा करिब १० दिन अगाडिको हो । हामी गाउँपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार अभियानमा छौँ’, उनले भने, ‘प्रधानाध्यापकलाई सकेसम्म आपसी समझदारीमा सरुवा हुनुहोस् भनेका हौँ । उहाँहरूले नमानेपछि हामीले सरुवा गर्न खोजेका हौँ।’

पालिकाको शिक्षा क्षेत्र सुधारका लागि पालिकाले शिक्षकलाई प्रत्येक महिना तलब खुवाउने, उत्कृष्ट शिक्षकलाई पुरस्कार र सम्मान गर्ने, प्रधानाध्यापक भत्ता पाँच सयबाट बढाएर दुई हजार पुर्याउने अभियानमा रहेको कालाखेतीले जानकारी दिए। ‘शिक्षा क्षेत्र सुधार्ने विषयमा सबैको साथ आवश्यक छ। यो गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णय हो। सकेसम्म आपसी समझदारीमै सरुवा हुन समय दिनेछौँ । तर कसैले मान्दिनँ भन्छ भने हामी कानुनअनुसार अघि बढ्नेछौ” अध्यक्ष कालाखेतीले भने। रासस

Share:
Reaction :
ताजा समाचार
खेलकुद