Media Network

विद्यार्थी संगठनले विद्यालयमा लगाएको ताला महानगरले फोड्यो


खबरस्टोरी संवाददाता

३० जेष्ठ २०८०,मंगलवार

काठमाडौं । विद्यार्थी संगठनले काठमाडौंका तीन वटा विद्यालयमा लगाएको ताला काठमाडौं महानगरपालिकाले फोडेको छ । काठमाडौंको संस्कृत माध्यामिक विद्यालय, वृहस्पति माध्यामिक विद्यालय र युलेन्स स्कुलमा विद्यार्थी संगठनले लगाएको ताला फोडिएको महानगर प्रहरीले जनाएको छ ।

छात्रवृत्ति विवरण, शुल्क स्वीकृति विवरण, कर्मचारीको पारिश्रमिक विवरण लगायतका माग राखेर अनेरास्ववियु (क्रान्तिकारी) काठमाडौं जिल्ला समितिले आइतबार ती विद्यालयहरुमा ताला लगाएको थियो ।

महानगरका मेयर बालेन्द्र (बालेन) साहले बालबालिका पढ्ने ठाउँमा ताला लगाउनु अपराध भएको भन्दै ताला फोड्न निर्देशन दिएका थिए ।

‘चाहे विद्यालय सरकारी होस् वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौं’ मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले लेखे '' काठमाडौं महानगरपालिकाको प्रमुख प्राथमिकता शिक्षा हो। हामी महानगरभरिका विद्यालयहरूको गुणस्तर सुधार गर्न निरन्तर लागिपरेका छौ। र महानगरपालिकाले आफ्नो क्षेत्र भित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्ने हो। यदि कुनै विद्यालयले नियमको पालना नगरे काठमाडौं महानगरपालिकालाई उजुरी गर्ने हो। 

पढ्ने ठाउँमा ताला लगाएर  एक अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको छ। चाहे सो विद्यालय सरकारी होस वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ।  त्यसैले हामीले महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडी बढाएका छौ।''

काठमाडौं महानगरले आफ्नो पालिकाभित्रको शैक्षिक संस्थाहरुमा राजनीतिक गतिविधि र बन्द हड्ताल गर्न नपाउने व्यवस्था गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद