धादिङको ज्वालामुखी गाउँपालिका–५ मा रहेको बालादेवी माध्यामिक विद्यालयका शिक्षक र विद्यार्थीले पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालय परिसरमा रहेको खाली जग्गामा फूल खेती गरेका हुन्। कक्षाकोठाको पढाइ सँगसँगै फूलखेतीमा रमाइरहेकी विद्यार्थी अस्मिता कुमाल भन्छिन्, ‘फूल खेतीबाट हामीले व्यवहारिक ज्ञान पनि सिकेका छौं।’
गत वर्षदेखि स्थानीय तहको सहयोगमा सुरु गरिएको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत् विद्यालयमा यो वर्ष तिहारलाई लक्ष्य गरेर फूल खेती गरिएको हो। दसैं–तिहारको बीचमा प्राय सामुदायिक विद्यालय बन्द भए पनि यो विद्यालयको पढाइ निरन्तर चलिरहेको छ। विद्यालय बन्द गर्दा फूलको हेरचाहमा कमी हुने र विद्यार्थीको पढाइमा पनि असर पर्ने भएकोले निरन्तर कक्षा सञ्चालन गरिरहेको विद्यालयका प्राधानाध्यापक शिवलाल श्रेष्ठले बताए।
पन्ध्र हजार सयपत्री र पाँच हजारभन्दा धेरै मखमलीका बिरुवा रोपिएका छन्। यसले विद्यालयलाई आम्दानी बढाउनाका साथै कक्षाकोठामा किताबी ज्ञान मात्र लिने विद्यार्थीलाई व्यवहारिक शिक्षा पनि दिलाएको छ।
‘विद्यालय सुधार योजना बनाउँदा नै फूल खेती र तरकारी खेती गर्ने कुरा समावेश गरेका थियौं। त्यसैअनुसार वडा कार्यालयले दुई लाख रूपैयाँ बजेट पनि छुट्याइदिएको छ,’ उनले भने, ‘त्यसले अझ हौसला बढायो। फूल खेतीले यो वर्ष तीन लाख रूपैयाँभन्दा बढी आम्दानी लिने लक्ष्य लिएका छौं।’
फूल खेतीले स्थानीय पाठ्यक्रमलाई पनि सहयोग पु¥याएको छ। विद्यालय परिसरमा ढकमक्क फुलेको फूलले आकर्षण त थपेको छ नै यसबाट हुने आम्दानीले विद्यालयमा हुने अतिरिक्त शैक्षिक गतिविधिमा पनि सहयोग पुगेको छ
आठदेखि दश कक्षासम्म अध्यन गर्ने विद्यार्थीहरुलाई दैनिक केही समय उपार्जनको काममा सहभागी गराउदै आइएको छ। यसले विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यवहारिक शिक्षा दिलाएर आफ्नो घर र पनि काम गर्न र अरुलाई सिकाउन सकोस् भन्ने उद्देश्यले पनि विद्यार्थीहरुकै सहभागितामा फूल खेती गरिएको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ।