Media Network

५ बर्षपछि ‘काजी’ निर्देशन गर्न लागेका लक्ष्मणको दावी–‘यसपाली अलि ठूलै धमाका हुन्छ’


खबरस्टोरी संवाददाता

२९ असार २०८०,शुक्रबार

काठमाडौं।करिब ६ बर्षको बिश्रामपछि निर्देशक लक्ष्मण रिजालले नयाँ फिल्म निर्देशन गर्ने घोषणा गरेका छन् । फिल्मको नाम राखेका छन्–‘काजी’ । सन् २०११–१४ को सेटअपमा बेलायतका बिभिन्न स्थानमा खिचिने फिल्म अन्तराष्ट्रिय बजारलाई लक्षित गरि निर्माण गर्न लागीएको भनाइ उनको छ । 

‘वान डे’,‘कसम’,‘धुवाँ यो नशा’,‘अलबिदा’ र ‘कायरा’ पछि उनले अर्काे फिल्म निर्देशन गरेका थिएनन् । बरु आफ्नो कम्पनी रिजाल एण्ड रिजाल प्रोडक्शनबाट मुम्बइमा कार्यरत प्रबिण झालाई निर्देशक लिएर  ‘डिसेम्बर फल्स’ निर्माण गरे । ‘अब बिश्राम पुग्यो मलाई’, ‘काजी’ को स्क्रिप्टिङ र कलाकार अनुबन्धन कार्यमा ब्यस्त भइरहेका निर्देशक लक्ष्मणले भने,‘अब पुनः धमाकाका साथ मैदानमा उत्रदैछु । यसपालि अलि बिशेष गर्दैछु ।’ 

लागूऔषध दुब्र्यसनको बिषयमा ‘वान डे’ निर्देशन गरेका लक्ष्मणले पहिलो फिल्मबाट वाहवाही पाएका थिए । युवा जोश, जाँगर र सोचमा अलि फरक बिषय उठानमा रुचि राख्ने उनी अन्ततः पूर्ण ब्याबसायिक रुपमा उत्रिए । त्यसपछि जन्मिए–‘कसम’,‘धुवाँ यो नशा’,‘अलबिदा’,‘कायरा’ । ‘कायरा’ बाट ब्याबसायिक सफलता हासिल गरे पनि केही समय निर्देशनबाट बिश्राम लिने मुडमा पुगेका उनी अन्ततः फिल्म नबनाइ बस्न सकेनन् । चरम लकडाउनको त्राहीमै कार्यकारी निर्माता भइ सुरु गरे–‘डिसेम्बर फल्स्’ । दाइ रामप्रसाद रिजालको निर्माणमा बनेको त्यो फिल्मले भने केही लाख घाटा लगाएको उनी स्वीकार्छन् । ‘‘डिसेम्बर फल्स’ बाट घाटा भयो । तर हामी तिल्मिलाएका छैनांै,’ भन्छन्, ‘म र मेरो दाई रामप्रसादले फिल्म निर्माणलाई ब्याबसायिक रुपले लिएकाले कहिले नाफा त कहिले घाटा हुने कुरालाई अस्वभावीक ठान्दैनौं ।’ 

०७५ को साउनमा प्रदर्शन भएको ‘कायरा’ पछि अब ०८० मा लक्ष्मण पुनः ‘एक्शन–कट’ मा उत्रदैछन् । सामाजीक कथामा निर्माण हुन लागेको उनको ‘काजी’ भदौ अन्तिमबाट सुटिङ हुने तयारीमा छ । केही दिनअघि मात्रै उनले ‘काजी’ का प्रमुख कलाकारमा कमेडी च्याम्पियनका चर्चित कमेडियनहरु कैलास कार्की र सुमन कार्कीका साथमा बर्षा शिवाकोटी,बुद्धि तामाङ र बिजय बराललाई अनुबन्धित् गरिसकेका छन् । ‘‘काजी’ चाहिँ बाँकी छ,’ उनी भन्छन्,‘‘काजी’ को ‘काजी’ केही दिनभित्रै सार्वजनीक गर्छाैं ।’ उनले घुमाइरो पाराले आफ्नो फिल्मको शीर्ष अभिनेता चयन भइरहेको जनाउ दिए तापनि को हुन् त ती ‘काजी’ ? त्यो भने ‘सस्पेन्सै राखेका छन् । 

‘काजी’ को प्रदर्शन मिति आगामी ०८१ को बैशाख १ गतेलाई तोकिसकिएको छ । ‘काजी’ को बितरण श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले गर्नेछन् । रामप्रसाद रिजालको प्रस्तुति रहने फिल्मको स्क्रिप्ट सविन अधिकारी र असिम काफ्लेले लेखिरहेका छन् । कथा भने बिपीका खनालको हो,‘डिसेम्बर फल्स’ को कथा पनि उनैले लेखेकी थिइन । 

हाल रिजाल ब्रदर आफूहरुले लिएको ‘गणपति’ फिल्म प्रदर्शनको चटारोमा छन् । मुकुन भुसाल र मेनुका प्रधान मुख्य भूमिकामा रहेको ‘गणपति’ १४ भदौमा दर्शकमाझ आउदैछ । ‘‘गणपति’ रिलिज लगतै ‘काजी’ को सुटिङ सुरु हुन्छ । यसपालि अलि ठूलै धमाका हुन्छ,’ आधाभन्दा बढी ‘कायरा’ फिलिपिन्समा खिचेका लक्ष्मण ‘काजी’ पूरै  बेलायतमा सिध्याउने योजनामा छन् । दोहोर्याउछन्, ‘यसपाली अलि ठूलै धमाका हुन्छ ।’ 

Share:
Reaction :
ताजा समाचार
खेलकुद