Media Network

फ्रान्सको सामना गर्दै मोरक्को


खबरस्टोरी संवाददाता

२८ मंसिर २०७९,बुधबार

काठमाडौं  । कतारमा जारी २२औं फिफा विश्वकप फुटबलमा आज फ्रान्स र मोरक्को भिड्नेछन् । आजको खेलको विजेताले अर्जेन्टिनासँग उपाधिका लागि फाइनल खेल्ने छ । खेल राति पौने १ बजे हुनेछ ।साविक विजेता फ्रान्स मोरक्कोलाई हराएर फाइनलमा पुग्ने योजनामा मैदान प्रवेश गर्नेछ । यता, मोरक्को भने इतिहास रच्ने प्रयासमा हुनेछ । 

फ्रान्स

फिफा वरीयताको चौथो स्थानमा रहेको फ्रान्स विश्वकपको साविक विजेता हो । विश्वकपको समूह ‘डी’ बाट विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको फ्रान्सले अन्तिम–१६ को खेलमा सेनेगललाई ३–० ले र क्वार्टरफाइनलमा इङ्ल्यान्डलाई २–१ ले हराएको थियो ।

डिडियर डेसच्याम्पको प्रशिक्षणमा रहेको फ्रान्सले कतार विश्वकपको पनि उपाधि जिते विश्वकपको इतिहासमा इटाली र ब्राजिलपछि लगातार दुई उपाधि रक्षा गर्ने टिम बन्नेछ ।

हालसम्म विश्वकपमा इटाली र ब्राजिलले मात्र उपाधि रक्षा गरेका छन् । इटालीले सन् १९३४ र १९३८ मा भएको विश्वकपको दोस्रो र तेस्रो संस्करणको उपाधि जित्दा ब्राजिलले सन् १९५८ र १९६२ मा भएको छैटौँ र सातौँ संस्करणको उपाधि जितेको थियो ।

सन् १९९८ र २०१८ को विजेता फ्रान्सले अहिलेसम्म विश्वकपका ६ संस्करणको सेमिफाइनल खेलेको छ । यसमध्ये तीन पटक फाइनल खेलेको फ्रान्सले दुईपटक उपाधि जितेको छ ।

मोरक्को 

फिफा वरीयताका आधारमा कतारमा जारी विश्वकपको सेमिफाइनलमा पुग्ने मोरक्को सबैभन्दा तलको टिम हो । फिफा वरीयताको २२ औँ स्थानमा रहेको मोरक्को विश्वकपको इतिहासमा अफ्रिकाबाट विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टिम हो । अफ्रिकाबाट यसअघि सेनेगल, क्यामरुन र घानाले विश्वकपको क्वार्टरफाइनल खेलेपनि सेमिफाइनल भने पुग्न सकेका थिएनन् ।

जारी विश्वकपमा समूह ‘एफ’ को विजेताको रूपमा नकआउट चरणमा आएको मोरक्कोले अन्तिम–१६ को खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले र क्वार्टरफाइनलमा पोर्चुगललाई १–० ले पराजित गरेको थियो । 

विश्वकपको इतिहासमा पहिलोपटक सेमिफाइनल प्रवेश गरेको मोरक्कोले सन् १९७० मा पहिलोपटक विश्वकप खेलेको थियो । त्यसयता विश्वकपको चार संस्करण खेलेको मोरक्कोले १९८६ मा अन्तिम–१६ को यात्रा तय गरेको थियो ।

जारी विश्वकपअघिसम्म यो नै मोरक्कोको विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट नतिजा हो ।

उपाधिका लागि आगामी आइतबार राति पौने ९ बजे प्रतिस्पर्धा हुनेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद