Media Network

कुशल मल्लको काउन्टर अट्याक, ३० बलमै बनाए अर्धशतक


खबरस्टोरी संवाददाता

८ बैशाख २०८०,शुक्रबार

काठमाडौं । एसीसी प्रिमियर लिग अन्तरगत ओमानविरुद्धको म्याचमा खराव प्रदर्शन गरेको नेपालको ब्याटिङलाई कुशल मल्लले लयमा फर्काएका छन् । नेपाली ब्याट्सम्यानमाथि ओमानका बलरहरु हावी भइरहँदा क्रिजमा आएका कुशलले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए ।

कुशल क्रिजमा आउनुअघि नेपालले २०.३ ओभरमा ७२ रन मात्र जोड्दा अग्रपंतिका चार विकेट गुमाएको थियो ।

दबाबको अवस्थामा पनि उनले खुलेर ब्याटिङ गरेका उनले चौका र छक्काको वर्षा गर्दै ३० बलमै अर्धशतक पूरा गरेका हुन् । कुशलको ब्याटिङले ओमानका बलरहरु ब्याकफुटमा आएका छन् ।

नेपालले आजको म्याचमा निकै खराब सुरूवात गर्दै दुवै ओपनरलाई शून्यमा गुमाएको थियो । कुशल भुर्तेलले ८ बल र आसिफ शेखले १० बल खेल्दा कुनै रन बनाउन सकेनन् । ३.४ ओभरमा नेपालले दुई रन मात्र जोड्दा दुवै ओपनर पेभिलियन फर्किएपछि भीम सार्की र कप्तान रोहित पौडेलले नेपालको ब्याटिङ सम्हाल्ने प्रयास गरेका थिए ।

उनीहरूबीच ५२ रनको साझेदारी भयो । तर, २३ रनको निजी स्कोमार रोहित र ३३ रनमा भीम आउट भएपछि नेपाल फेरि दबाबमा परेको थियो । छैटौं नम्बरमा कुशल ब्याटिङमा आएपछि म्याच सिनारियो फेरिएको हो । भरपर्दा ब्याट्सम्यान आरिफ शेख र कुशलले महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई अघि बढाएका छन् ।

यो समाचार बनाउँदासम्म ३९ बलमा २८ रन बनाएर खेलिरहेका छन् । कुशलले भने ३२ बलमा ७ चौका र ४ छक्कासहित ५५ रन जोडेका छन् । आजको म्याच एकदिवसीय मान्यता प्राप्त भएकाले नेपालका लागि महत्वपूर्ण छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद