Media Network

नेपाल टी-२०: लुम्बिनीसँग ५ रनले हार्‍याे जनकपुर


खबरस्टोरी संवाददाता

१९ पुष २०७९,मंगलवार

काठमाडौं । चादविक वाल्टनको अर्धशतकका बावजुद पनि जनकपुर रोयल्स लुम्बिनी अलस्टार्ससँग ५ रनले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी–२० अन्तर्गत लुम्बिनीले दिएको १७९ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रनमा सीमित भयो ।

जनकपुरका चादविक वाल्टनले उत्कृष्ट इनिङ खेले । उनी ३६ बलमा ३ चौका र ४ छक्कासहित ५९ रनमा अविजित रहे ।

ओपनर ट्रेभोन ग्रिफित र शरार्फुदिन असरर्फले समान २६–२६ रनको योगदान गरे । सन्दीप जोरा २१ बलमा १ चौका र २ छक्कासहित १८ रनमा पभेलियन फर्किएका थिए । सामिउल्ला सिनवारी १३ बलमा २ चौकासहित १८ रनमा आउट भए ।

लुम्बिनीका ह्यारी टेक्टरले दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७८ रनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका ओपनर हर्मित सिंहले सर्वाधिक ७३ रनको इनिङ खेले । उनले ४७ बलमा ५ चौका र ६ छक्का प्रहार गरेर आउट भएका थिए । लाहिरु मिलान्था ३२ बलमा दुई चौका र दुई छक्कासहित ३३ रन बनाएर पभेलियन फर्किएका थिए । कुशल भुर्तेल १७ रनमा आउट हुँदा कप्तान दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । ह्यारी टेक्टर १८ रनमा अविजित रहे ।

जनकपुरको बलिङमा शराफुदिन असरर्फले तीन ओभरमा ३५ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । सामिउल्लाह सिनवारी, ललितनारायण राजवंशी र जितेन्द्र मुखियाले एक–एक विकेट लिए ।

जारी प्रतियोगितामा ८ खेल खेलेको लुम्बिनी ७ जीत र एक हारअन्तर्गत १४ अंकसहित शीर्ष स्थानमा रहेको छ । लुम्बिनी यसअघि नै प्लेअफमा पुगिसकेको छ ।

जनकपुर ८ खेलमा ५ जीत र तीन हारको नतिजासहित १० अंक जोडेर दोस्रो स्थानमा छ ।

लुम्बिनीले बुधबार काठमाडौं अलस्टार्ससँग खेल्नेछ । जनकपुरले बिहीबार पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद