Media Network

नेपाल तान्जानियासँग २७ रनले पराजित


खबरस्टोरी संवाददाता

२९ कार्तिक २०८०,बुधबार

काठमाडौं ।  हङकङमा बुधबारबाट शुरु भएको चार राष्ट्र सम्मिलित टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा तान्जानियासँग नेपाल २७ रनले पराजित भएको छ । टस जितेर ब्याटिङ गरेको तान्जानियाले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो ।

१ सय १६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १६ ओभर ५ बलको समाप्तीमा अलआउट हुँदै मात्र ८८ रन बनाउन सक्यो । 

नेपालका लागि सीता राना मगरले सर्वाधिक ४३ रन बनाए ।  इन्दु बर्मा १५ रन बनाएर पेभेलियन फर्किँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । काजल श्रेष्ठले ९ रन, संगिता राई ४, इश्वरी विष्ट र पूजा महतो ३, ३ रन बनाउँदा अश्मिता कर्माचार्यले २ रन मात्र जोडिन् । रुविना क्षेत्र सून्य रनमै रन आउट भएकी थिइन् ।

यसअघि ब्याटिङ गरेको तान्जनियाका लागि आइसा मोहमदले २१ रनको योगदान गरिन् भने हुद्दा ओमारीले २५ रन बनाइन् । उनले २६ बलको सामना गरी दुई चौका हिर्काइन् । 

यो शृंखलामा नेपाल, तान्जिनिया र हङ्कङका अतिरिक्त चौथो टोलीका रुपमा जापान सहभागी छ । हालै मात्रै नेपाली टोलीको कप्तान बनाइएकी इन्दू बर्माको नेतृत्वमा नेपाली टिम पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले इन्दूको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको थियो । यसअघि राष्ट्रिय महिला टोलीको कप्तानको भूमिकामा रुविना क्षेत्री रहेकी थिइन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद