Media Network

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदै, आर्मी शीर्ष स्थानमा


खबरस्टोरी संवाददाता

३ कार्तिक २०७९,बिहीबार

पोखरा । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता विहीबार सकिँदैछ । दिउँसो २ः३० बजेपछि पोखरा रङ्गशालामा भव्य कार्यक्रमसहित नवौँको बिदाइ गरिने आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । 

समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगायतका विशिष्ट व्यक्ति सहभागी हुनेछन् । 

गत असोज २८ गते नवौं राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, कलाकारबाट गीत प्रस्तुत, झाँकी, गीत सङ्गीत तथा नृत्य लगायतका कार्यक्रम गरिने छ ।

त्रिभुवन आर्मी क्लव शीर्ष स्थानमा

गण्डकी प्रदेशको पोखरासहित विभिन्न जिल्लामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लव शीर्ष स्थानमा रहेको छ । आर्मीले १ सय ५० स्वर्ण, ९४ रजत र ७० कास्यसहित ३ सय १४ पदकका साथ शीर्ष स्थान कायम रहेको छ । 

दोस्रो र तेस्रो स्थानमा पनि विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लव र नेपाल पुलिस क्लव छन् । सशस्त्र ४२ कास्य, ५७ रजत र ७७ कास्यसहित दोस्रो तथा पुलिस ५२ स्वर्ण, ४७ रजत र ५९ कास्य गरी १ सय ५८ पदकका साथ तेस्रो स्थानमा रहेको छ । 

यसैगरी बाग्मती प्रदेश २२ स्वर्ण, ४२ रजत र ५९ कास्यसहित एक सय २३ पदका साथ चौथो स्थानमा रहेको छ भने गण्डकी २९ स्वर्ण, २८ रजत र ४९ कास्यसहित १ सय ६ पदकसहित पाँचौं स्थानमा रहेको छ । 

यस्तै, एक नम्बर प्रदेशले ९ स्वर्ण, २२ रजत र ४४ कास्यसहित ७५ पदकका साथ छैठौं स्थानमा छ  ।

यस्तै, लुम्बिनी प्रदेश ४ स्वर्ण, १७ रजत र ३७ कास्यसहित ५८ पदक जित्दै सातौं स्थानमा रहँदा ८ स्वर्ण, ६ रजत र ३३ कास्यसहित ४७ पदकका साथ सुदूरपश्चिम आठौं स्थानमा रहेको छ । 

नवौं राष्ट्रिय खेलकुदमा मधेस प्रदेशले ५ स्वर्ण, ८ रजत र २१ कास्यसहित ३४ पदक जितेको छ भने एनआरएनएले १० स्वर्ण, ८ रजत र ६ कास्यसहित २४ पदक जितेको छ । 

कर्णाली प्रदेश मात्र २ स्वर्ण, ३ रजत र ११ कास्यसहित १६ पदक जितेर पुछारमा रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद