Media Network

पोलार्ड इंग्ल्याण्डको सहायक प्रशिक्षक नियुक्त


खबरस्टोरी संवाददाता

९ पुष २०८०,सोमबार

लण्डन । केरन पोलार्ड वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकामा हुन गइरहेको पुरुष टी–२० विश्वकपका लागि इंग्ल्याण्डको सहायक प्रशिक्षक नियुक्त भएका छन् । स्थानीय अवस्थाबारे ज्ञान दिनका लागि उनलाई नियुक्त गरिएको ईएसपीएन क्रिकइन्फोले जानकारी दिएको हो । टी–२० विश्वकप आगामी जुन ४ देखि ३० सम्म आयोजना हुँदैछ ।

पोलार्डले वेस्ट इन्डिजका लागि १०१ टी–२० अन्तर्राष्ट्रिय खेलहरू खेलेका छन् । उनी सन् २०१२ को टी–२० विश्वकप विजेता टोलीका सदस्य रहेका थिए । सन् २०२१ को संस्करणमा उनी वेस्ट इन्डिजको टोलीको कप्तानसमेत रहेका थिए । उनले सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि फ्रेन्चाइजी क्रिकेटमा सक्रिय रहेका छन् ।

पोलार्डको कप्तानीमा हालै न्युयोर्क स्ट्राइकर्सले अबुधाबी टी–१० लिग जितेको थियो भने ट्रिनबागो नाइट राइडर्स सीपीएलको फाइनलमा पुगेको थियो । उनी आईपीएलमा मुम्बईको ब्याटिङ प्रशिक्षक पनि रहेका छन् ।

इंग्ल्याण्ड टी–२० विश्वकपको साबिक विजेता हो । तर, टोलीले हालै भारतमा सम्पन्न एकदिवसीयमा विश्वकपमा खराब प्रदर्शन गरेको थियो । आफ्ना ९ मध्ये ६ खेलमा पराजित भएको इंग्ल्याण्ड बल्लतल्ल च्याम्पियन्स ट्रफीमा छनोट भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद