क्यानले पुस ५ देखि १८ गतेसम्म हुने प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको हो। प्रतियोगिता पहिलो पटक सिङ्गल राउण्ड रोबिनका आधारमा सञ्चालन हुनेछ। ७ प्रदेश र विभागीय टोली एपीएफसहित ८ टोली सहभागी प्रतियोगितामा कूल ३२ खेल हुनेछ। १४ दिन चल्ने प्रतियोगिताका खेल काठमाडौंको टीयू र मूलपानी मैदानमा सञ्चालन हुने छन्।
राउण्ड रोबिन लिगपछि प्लेअफ र फाइनल खेल हुने छन्। शीर्ष दुई टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने विजेता फाइनल पुग्नेछ। यस्तै तेस्रो र चौथो हुनेले एलिमिनेटर खेल्नेछन्। उक्त खेलको विजेताले पहिलो क्वालिफायरमा पराजित टोलीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ। प्रतियोगिताको पहिलो दिन चार खेल हुने छन्।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा बागमती र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुने छ। दोस्रो खेलमा गण्डकी र लुम्बिनी आमने–सामने हुने छन्। मूलपानीमा साविक विजेता सदूरपश्चिमले एपीएफको सामना गर्ने छ भने अर्को खेलमा कर्णाली र कोशी प्रतिस्पर्धा गर्ने छन्।
प्रतियोगिताअन्तर्गत बिहानका खेल साढे ९ बजे तथा दिउँसोका खेल सवा १ बजे सुरु हुने छन्। राष्ट्रिय खेलकुद परिषद्को वार्षिक कार्यक्रमअन्तर्गत नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापनमा हुने प्रतियोगिता टी २० ढाचामा सञ्चालन हुने छ।