Media Network

सेन्सर बोर्डलाई बालेनको चारबुँदे सुझावपत्र


खबरस्टोरी संवाददाता

६ मंसिर २०८०,बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेपालको मौलिकता, धर्म, संस्कृति, स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउनेसहितका चारबुँदे सुझावसहित फिल्म सेन्सर बोर्डलाई पत्र लेखेका छन् ।
केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्षलाई पठाइएको पत्रमा पञ्चशील सिद्धान्त, शान्ति प्रवर्द्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको प्रसारणमा रोक लगाउन पनि आग्रह गरिएको छ ।
कुनै पनि जातजाति, वर्ण, समुदाय, लिंग तथा शारीरिक, मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद (हेट स्पिच)मा रोक लगाउने समेत उनले माग राखेका छन् ।
यी विषयवस्तुलाई प्राथमिकतामा राख्न समेत उनको आग्रह छ । सेन्सर बोर्डले चलचित्र जाँच समितिको कार्यविधि २०७४ कार्यान्वयनमा ल्याएको सन्दर्भमा मेयर साहले पत्र लेखेका हुन् ।

कार्यविधिअनुसार प्रतिबन्धित चलचित्रका दृश्य तथा संवादसहितको चलचित्र प्रदर्शनमा आएको खण्डमा महानगरपालिकाले प्रचलित कानुन बमोजिम आवश्यक कदम चाल्ने चेतावनी पनि उनले दिएका छन् । चलचित्र जाँच समितिको कार्यविधि–२०७४ कार्यान्वयनमा ल्याई चलचित्र जाँचसम्बन्धी कार्यलाई एकरुपता दिएर जवाफदेही बनाउने काम भएको भन्दै उनले प्रशंसा समेत गरेका छन् ।

उक्त कार्यविधिमा मित्रराष्ट्रको सम्बन्धमा असर पर्नेलगायतका फिल्म बनाउन नपाइने व्यवस्था सरकारले समावेश गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद