Media Network

स्पेनिस फुटबल टिम र गण्डकीको मैत्रीपूर्ण खेल आज


खबरस्टोरी संवाददाता

१३ पुष २०७९,बुधबार

काठमाडौँ।‘शान्तिका लागि फुटबल’ नाराका साथ दुई मैत्रीपूर्ण खेल खेल्नका लागि आइपुगेको स्पेनिस फुटबल टिम कासेरेन्यो सिपीले आज पोखरा रंगशालामा गण्डकी ११ सँग पहिलो खेल खेल्दैछ । कास्की जिल्ला फुटबल संघसँगको समन्वयमा लुम्बिनी गार्डेन फाउन्डेसनले गर्न लागेको खेलमा स्थानीय टोली गण्डकीको कप्तानी नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङले गर्नेछन् ।

राजेन्द्र तामाङको प्रशिक्षणमा रहने टोलीबाट गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)पनि मैदान उत्रिने आयोजकले बताएको छ । टोलीका अन्य खेलाडीमा दुई गोलपिकर दीप कार्की र राजाबाबु मगर तथा रोशन राना मगर, मानबहादुर तामाङ, आशिष गुरुङ, रन्दीप पौडेल, जीवन गुरुङ, सुमित श्रेष्ठ, सरोज योञ्जन, विसोन गुरुङ, जय गुरुङ, कमल थापा मगर, विजय श्रेष्ठ, दीपेश आले मगर, सान्ताबहादुर गुरुङ, लक्ष्मण रुचाल, सुवाष गुरुङ, सुरज गुरुङ र प्रकाश पुन छन् ।

नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका लागि कासेरेन्योको ५० सदस्यीय टोली मंगलबार आइपुगेको थियो । मंगलबार बिहान कतार एयरवेजको विमानबाट काठमाडौँ आइपुग्नेवित्तिकै विमानस्थलबाटै टोली आन्तरिक उडानमार्फत पोखरा आएको थियो । टोलीलाई सोमबार मड्रिड विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले विदाई गरेकी थिइन ।

आगामी जनवरी चारमा स्पेनिस कोडा डेल रेको अन्तिम ३२ अन्तर्गतको खेलमा रियल मड्रिडसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेको स्पेनिस टोलीले बिहीबार काठमाडौंको दशरथ रंगशालामा काठमाडौँ ११ सँग दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।

काठमाडौँ टोलीको नेतृत्व नेपाली राष्ट्रिय फुटबल टिमका अर्का कप्तान विराज महर्जनले गर्नेछन् भने प्रशिक्षकको जिम्मेवारीमा मेघराज केसी रहनेछन् । टोलीमा काठमाडौँमा रहेका अन्य राष्ट्रिय खेलाडीहरूको उपस्थिति रहने बताइएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद