Media Network

टी-२० विश्वकप छनोटको उपाधिका लागि नेपाल र ओमान भिड्दै


खबरस्टोरी संवाददाता

१९ कार्तिक २०८०,आईतवार

काठमाडौं । अर्को वर्ष हुने आईसीसी टी–२० विश्वकपमा स्थान पक्का गरिसकेको घरेलु टोली नेपाल र ओमान एसिया क्षेत्र छनोटको उपाधिका लागि आज फाइनल खेल्दैछन् ।खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।

शुक्रबार भएको सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै वेष्ट इन्डिज र अमेरिकामा आगामी जुनमा हुने टी–२० विश्वकपमा स्थान बनाएका हुन् । उक्त विश्वकपमा कुल २० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यसपटक ग्लोबल क्वालिफायरको सट्टा क्षेत्रीय छनोट प्रतियोगिताहरु मात्र आयोजना हुँदा एसियाबाट दुई टोलीले मात्र टी–२० विश्वकपमा छनोट हुने प्रावधान थियो । त्यसका लागि एसिया छनोटको सेमिफाइनल जित्दै फाइनल पुग्ने टिम मात्र छनोट भएका हुन् ।

गत वर्ष ओमानमै भएको टी–२० विश्वकपको ग्लोबल क्वालिफायर्समा नेपाल र ओमान दुवै सेमिफाइनलम पराजित हुँदै विश्वकपमा पुग्न असफल भएका थिए ।

२०१४ मा बंगलादेशमा टी–२० विश्वकप खेलेको नेपालले एक दशकपछि फेरि विश्वकपमा स्थान बनाएको हो । उता ओमान भने २०२१ पछि टी–२० विश्वकपमा छनोट भएको हो ।

यस पटक एसिया छनोटमा नेपाल र ओमान एउटै समूहमा थिए । समूह ए मा रहेका यी दुई टोलीबीच रोमाञ्चक खेल हुँदा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो ।

त्रिवि मैदानमै भएको उक्त खेलमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र बनाउन सकेको थियो ।

फाइनलसम्म आइपुग्दा ओमान अपराजित छ भने नेपालले एक खेल (ओमानसँग) मात्र हारेको थियो । समूह चरणमा नेपाल र ओमान दुवैले सिंगापुर र र मलेसियालाई पराजित गरेका थिए ।

टी–२० विश्वकपमा स्थान पक्का गरिसकेकोले नेपाल र ओमान दुवैका लागि फाइनलमा कुनै दबाब हुने छैन । तर दुवै टोली फाइनल जित्दै आफ्नो प्रभाव देखाउन चाहन्छ ।

नेपालका लागि घरेलु समर्थकअघि ओमान विरुद्ध समूह चरणको हारको बदला लिँदै च्याम्पियन बन्ने अवसर समेत छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद