Media Network

विश्वकप फुटवलः तेस्रो बन्यो क्रोएशिया, उपाधि भिडन्त आज


खबरस्टोरी संवाददाता

३ पुष २०७९,आईतवार

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटवलमा सेमिफाइनलबाट रोकिएको क्रोएसियाले तेस्रो स्थानका लागि शनिवार राती भएको खेलमा मोरक्कोलाई पराजित गरेको छ । गत विश्वकपमा उपविजेता बनेको क्रोएशिया विश्वकप फुटबलको इतिहासमा दोस्रो पटक तेस्रो स्थान हात पार्न सफल भएको छ ।

तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ गोलले पराजित गरेको हो ।शनिबार राति भएको खेलको सुरुवातमा नै क्रोएसियाले अग्रता लिएको थियो । सातौँ मिनेटमा जोस्को जिभार्डिओलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर दुई मिनेट पछि नै मोरक्कोका असरफ दारीले बराबरी गोल फर्काएका थिए ।

क्रोएसियाले यसअघि सन् १९९८ को विश्शवकपमा तेस्रो स्थान हात पारेको थियो । त्यतिबेला क्रोएसियाले नेदरल्याण्डलाई २–१ गोल अन्तरले नै हराएको थियो ।​ ​मोरक्कोले भने पहिलोपटक तेस्रो स्थानका लागि खेलेको हो । पहिलोपटक सेमिफाइनल पुग्ने अफ्रिकी टोलीको इतिहास रचेको मोरक्को फ्रान्ससँग पराजित भएको थियो ।

उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिडन्त आज

कतारमा जारी विश्वकपको यो संस्करणको उपाधिका लागि आज आइतबार राति अर्जेन्टिना र साविक विजेता फ्रान्स भिड्नेछन् । यो खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । सेमिफाइनलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना तथा मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा पुगेका हुन् । दुवै टोली तेस्रो पटक विश्वकप जित्ने लक्ष्यमा छन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप जितेको थियो ।

अर्जेन्टिना ३६ वर्षपछि विश्वकप जित्ने तयारीमा छ । सन् २०१४ मा ब्राजिलमा आयोजना भएको विश्वकपको फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा परािजत भएपछि अर्जेन्टिनाले उपाधि जित्न सकेको थिएन । फ्रान्सले भने सन् १९९८ र २०१८ को विश्वकप जितेको थियो । फ्रान्स लगातार दुई पटक विश्वकप जित्ने ब्राजिल र इटालीपछिको पहिलो टोली बन्ने अभियानमा रहेको छ ।

आइतबारको फाइनल खेललाई फ्रेन्च क्लब पिएसजीका दुइ स्टार खेलाडीहरु लियोनल मेस्सी र किलियन एम्बाप्पेको भिडन्तको रुपमा पनि हेरिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद