Media Network

विश्वकपको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स भिड्दै


खबरस्टोरी संवाददाता

३ पुष २०७९,आईतवार

दोहा। कतारमा जारी २२ औँ विश्वकप फुटबलको उपाधिका लागि आइतबार साँझ साबिक विजेता फ्रान्स र दुई पटकको विजेता अर्जेन्टिना भिड्दै छन्। नेपाली समयअनुसार साँझ पौने ९ बजे सुरु हुने खेलमा जसले जिते पनि तेस्रो पटक विश्व च्याम्पियन बन्नेछन् ।

अर्जेन्टिनाले ३६ वर्षयता यो प्रतियोगिता जित्न सकेको छैन । यसबीचमा २ पटक फाइनल पुगेर पराजित भएको थियो । सन् १९७८ मा पहिलो पटक विश्व विजेता बनेको अर्जेन्टिना त्यसपछि १९८६ मा दोस्रो पटक उपाधि जित्न सफल भएको थियो । सन् १९९० र २०१४ को संस्करणमा फाइनल पुगे पनि उपविजेता मै सीमित बन्यो । अर्जेन्टिना समग्रमा छैटौँ पटक विश्वकपको फाइनल खेल्दै छ ।

यता सन् १९९८ मा पहिलो पटक फाइनल पुग्नेक्रममै विश्व विजेता बनेको फ्रान्स २००६ को संस्करणमा पनि उपाधि नजिक पुगेको थियो तर फाइनलमा इटालीसँग टाइब्रेकरमा पराजित भयो। फ्रान्स चौथो पटक विश्वकप फाइनलमा भिड्न लागेको हो। अर्जेन्टिनालाई पराजित गर्न सकेको अवस्थामा फ्रान्स विश्वकपको उपाधि रक्षा गर्ने ६० वर्षयताको पहिलो टोली बन्ने छ। अन्तिम पटक यस्तो सफलता सन् १९६२ मा ब्राजिलले प्राप्त गरेको थियो ।

आइतबारको खेलमा धेरैको नजर लियोनल मेस्सी र केलियन एमबाप्पेमाथि हुने छ। ७ पटकका फिफा वर्ष खेलाडी मेस्सीका लागि विश्व च्याम्पियन बन्ने यो अन्तिम अवसर हो। उनले यो आफ्नो अन्तिम विश्वकप भएको बताइसकेका छन्। मेस्सीकै कप्तानीमा अर्जेन्टिना सन् २०१४ को विश्वकपमा फाइनलसम्म पुगे पनि उपाधि भिडन्तमा पराजित भएको थियो।

मेस्सीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका रूपमा गोल्डेन बल भने प्राप्त गरेका थिए। उनले गत वर्ष मात्र अर्जेन्टिनाका लागि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा उपाधि जित्ने सपना पुरा गरेका थिए। ब्राजिलमा भएको कोपा अमेरिकामा फाइनलमा घरेलु टोलीलाई हराएर उपाधि जितेका थिए। त्यसयता कोपा अमेरिका च्याम्पियन र युरो कप च्याम्पियनबीच भएको भिडन्तको उपाधि पनि अर्जेन्टिनाले जितेको छ। मेस्सीले जारी प्रतियोगितामा ५ गोल र तीन असिस्ट गरेका छन्।

उनले नकआउटका हरेक खेलमा गोल गरेका छन्। प्रतियोगितामा पहिलो खेल हारेको अर्जेन्टिनाले त्यसयता पछाडि फर्केर हेर्नु परेको छैन। प्रिक्वाटरफाइनलमा अस्ट्रेलियालाई २–१, क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराएको अर्जेन्टिनाले सेमिफाइनलमा साबिक उपविजेता क्रोएसियालाई ३–० गोलले हराएको थियो। यता नयाँ पुस्ताका होनाहार एमबाप्पे लगातार दोस्रो पटक विश्व विजेता बन्ने प्रयासमा छन्। उनले पनि जारी प्रतियोगितामा ५ गोल र दुई असिस्ट गरेका छन्।

सन् २०१८ मा फ्रान्सले उपाधि जित्दा एमबाप्पे सर्वोत्कृष्ट युवा खेलाडी घोषित भएका थिए। यसपटक क्वाटरफाइनल र सेमिफाइनलमा गोल गर्न चुकेका उनी गोल्डेन बुटको पनि दौडमा छन्। संयोग के छ भने मेस्सी र एमबाप्पे दुवै व्यावसायिक फुटबल एउटै क्लबबाट खेल्दै आएका छन्।

समूहगत चरणमा सुरुका दुई खेल जितेर नकआउट चरणमा स्थान पक्का गरेको फ्रान्स अन्तिम खेलमा ट्युनिसियासँग पराजित भए पनि समूह विजेताका रूपमा अगाडि बढेको थियो। उसले प्रिक्वाटरफाइनलमा पोल्यान्डलाई ३–१, क्वाटर फाइनलमा इङ्गल्यान्डलाई २–१ र सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले हराएको थियो।

अर्जेन्टिना र फ्रान्स अन्तिम पटक सन् २०१८ को विश्वकप प्रिक्वाटरफाइनलमा भिडेका थिए। त्यस खेलमा फ्रान्स ४–३ गोलले विजयी भएको थियो। एमबाप्पेले त्यस खेलमा २ गोल गरेका थिए भने मेस्सी गोलविहीन रहेका थिए। फ्रान्ससँग हालसम्म भएका १२ भिडन्तमा अर्जेन्टिनाले ६ जित, तीन बराबरी र तीन हारको नतिजा निकालेको छ।

सन् १९३० र १९७८ मा आयोजित विश्वकपमा पनि यी दुई टोली भिडेका थिए। ती दुवै खेलमा अर्जेन्टिना विजयी भएको थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद