Media Network

आइपीओ निष्कासन गर्दै सन नेपाल लाइफ


खबरस्टोरी संवाददाता

२४ श्रावण २०८०,बुधबार

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि साउन ३२ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणतर्फको कुल कित्ता आइपीओमध्ये १० प्रतिशत दरको ९ लाख ६० हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ५ प्रतिशत दरको ४ लाख ८० हजार कित्ता सामूहिक लगानीकोषहरूमा बाँडफाँट गरिसकेको छ । 

जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्न कम्पनीले अनुमति पाएको थियो । प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा आइपीओ बिक्री गर्न कम्पनीले अनुमति पाएको हो । 

अब ४ लाख ८० हजार कित्ता कम्पनीका लागि सुरक्षित गरी बाँकी ७६ लाख ८० हजार कित्ता भने सर्वसाधारणमा सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । कर्मचारीहरूका लागि भने प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यमै आइपीओ बिक्री गर्ने जानकारी कम्पनीले दिएको छ ।

सर्वसाधारणले कम्पनीको आइपीओ खरीदका लागि भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने भदौ १४ गतेसम्म बिक्री अवधि थप हुने कम्पनीको भनाई  । यो आइपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ ।

आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै खरीदकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।आइपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषत स्तरको सुरक्षित रहेको संकेत केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । 

नयाँ जीवन बीमा कम्पनीको रुपमा यस कम्पनीले २०७४ साल असोज ६ गतेदेखि सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीले २९ शाखा कार्यालय र १६१ उपशाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । यो कम्पनी नाफामै रहेको छ । अघिल्ला तीन आर्थिक वर्ष निरन्तर नाफामा रहेको कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ८१ करोड १० लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद