Media Network

अमेरिकी बैकिंङ्ग प्रणाली संकटग्रस्त, ८०% बढी चुक्ता पुँजी गुमाउँदै बैंकहरु


खबरस्टोरी संवाददाता

२१ चैत्र २०७९,मंगलवार

काठमाडौँ।पछिल्लो समयको परिदृश्यले अमेरिकी बैंकिङ्ग प्रणाली संकटग्रस्त अवस्थामा रहेको पुष्टि गरेको छ । सिलिकन भ्याली बैंक र सिंग्नेचर बैंक ४८ घन्टाको अन्तरालमा टाट पल्टिदा अन्य बैंकहरुको सेयरमूल्यमा समेत भारी गिरावट आएको छ । अमेरिकी अर्थशास्त्री नौरिएल रुबिनीले अमेरिकाका अधिंकाश बैंकहरु प्राविधिक रुपमा टाट पल्टिएको जनाएका छन् ।

अमेरिकी बैंकिङ्ग प्रणालीमा देखिएको समस्या बुझ्नका लागि सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ संक्रमणको समयमा अमेरिकी बैंकहरुले लिएको निर्णय बुझ्नु पर्ने हुन्छ । काभिड–१९ महामारीको समयमा अर्थतन्त्र धरासायी हुन नदिन अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले विस्ताकारी मौद्रिक नीति अवलम्बन गरी ब्याजदर शून्य बनाएको थियो । बैंकिङ्ग प्रणालीमा तरलता अभाव हुन नदिन फेडले क्वान्टिटेटिभ इजिङ मार्फत ९ ट्रिलियन डलर अमेरिकी बैंकिङ्ग प्रणालीमा पठाएको थियो । फेडको यो कदमले अमेरिकी बैंकिङ प्रणालीमा इजी मनी फर्मेशन भएको थियो ।

अमेरिकाले कोभिड–१९ संक्रमणबाट असर पुगेका व्यवसाय तथा समुदायहरुमा राहत प्याकेज समेत वितरण गरेको थियो । जसकारण बैंकका निक्षेपकर्ताहरुले निक्षेप निकालेका थिएनन् र बैंकिङ प्रणालीमा प्रशस्त तरलताको अवस्था सिर्जना भयो । सो समयमा बैंकहरुले दीर्घकालीन लगानीका लागि टे«जरी बिल, बोन्ड, डिबेन्चरमा लगानी बढाउँदै गए । कोभिड–१९ को समयमा संक्रमण फैलिन नदिन विभिन्न देशहरुले बोर्डर बन्द गर्ने, लकडाउन गर्ने जस्ता कार्यहरु गरेका थिए । लकडाउनका कारण बजारमा वस्तुको माग अनुरुपको आपूर्ति हुन सकेन । आपुर्ति श्रृङ्खला अवरोध हुँदा अमेरिकामा मुद्रास्फीति दर ४० वर्ष यताकै उच्च हुन पुगेको थियो ।

४० वर्ष यताकै उच्च मुद्रास्फीति नियन्त्रण गर्न फेडले संकुचित मौद्रिक नीति अपनाउनुका साथै आक्रामक शैलीमा ब्याजदर बढाउन सुरु गर्यो । साथै क्वान्टिटेटिभ टाइटेनिङ मार्फत बैंकिङ्ग प्रणालीमा पठाएको रकम समेत फिर्ता लिन सुरु गर्यो । आक्रामक शैलीमा फेडले बढाएको ब्याजदरका कारण सन् २०२२मा टे«जरी बिलको बन्ड यल्ड बढ्दै गयो भने स्टक मार्केट र बन्दको मूल्य घट्दै गयो ।

सन् २०२२मा मात्रै १० वर्षे ट्रेजरी बिलको मूल्य २० प्रतिशत र एस एन्ड पी सूचांकमा १५ प्रतिशतको गिरावट आएको थियो । दीर्घकालीन लाभका लागि लगानी गरेका संस्थागत लगानीकर्ता तथा व्यक्तिगत लगानीकर्ता दुवैले ठूलो घाटा व्यहोर्नु पर्यो । दीर्घकालीन लाभका लागि लगानी गर्ने संस्थागत लगानीकर्तामा अधिकांश अमेरिकी बैंकहरु थिए ।

सेयरबजार तथा ट्रेजरी बिलको मुल्यमा आएको कमीका कारण लगानीकर्ताको मात्रै नभई विभिन्न बैंकहरुको पोर्टफोलियो समेत खस्किन सुरु गर्यो । रुबिनीका अनुसार सन् २०२२को अन्त्यसम्ममा अमेरिकी बैंकहरुले लगानी गरेको कम्पनीहरुको सेयरमा गिरावट आउँदा बैंकहरुको पोर्टफोलियो २८ प्रतिशतले खुम्चिएको हो ।

हाल फेडले ब्याजदर बढाएर ४.२५–४.७५ प्रतिशत पु¥याएको छ । कोभिडको समयमा बैंकहरुले १ प्रतिशत ब्याजदरमा १० वर्षे दीर्घकालीन कर्जा प्रवाह गरेका थिए । हालको अवस्थामा कर्जाको ब्याजदर ४.७५ प्रतिशत पुग्दा समेत अधिकांश बैंकहरुले १ प्रतिशत ब्याजदरमा कर्जा दिएका कारण ऋणीहरुबाट बैंकहरुले १ प्रतिशत ब्याज पाइरहेको रुबिनी बताउँछन् । यसले बैंकहरुको पुँजीमा अप्रत्यक्ष रुपमा असर गरेको छ । बैंकहरुको पुँजीको गुणस्तर मापन गर्दा अधिकांश बैंकहरु टाट पल्टिने अवस्थामा पुगेको रुबिनीको ठहर छ ।

कोभिड–१९का कारण सिर्जना भएको मुद्रास्फीति रुसले युक्रेनमा आक्रमण गरेपछि उत्कर्षमा पुगेको छ । खाद्यान्न तथा पेट्रोलियम पदार्थको मूल्य आकाशिदै जाँदा समेत फेडले निरन्तर ब्याजदर बढाइरहेको छ । जसकारण निक्षेपकर्ताहरुले बैंकबाट निक्षेप निकालिरहेका छन् । कोभिडको समयमा उत्कृष्ट प्रर्दशन गरेका कम्पनीहरुको मूल्यमा गिरावट आउँदा सेयरबजार निरन्तर ओरालो लागिरहेको छ । लगानीकर्ताहरुले ठूलो मात्रामा लगानी गुमाएका छन् ।

फेडले निरन्तर ब्याजदर बढाउँदै गर्दा निक्षेप निकाली लगानीकर्ताहरुले अन्य लगानीका सूत्रमा लगानी विविधिकरण गरिरहेका छन् । बैंकिङ्ग प्रणालीमा प्रशस्त रकम नहुँदा बैंकहरुमा तरलता अभावको वातावरण सिर्जना भएको छ । यस परिस्थितिमा सिलिकन भ्याली बैंकले घाटामा बन्ड बेच्नु परेको बाध्यता सार्वजनिक गरेपछि निक्षेपकर्ताहरुले निक्षेप निकाल्दा बैंक रन भएपछि फेडरल डिपोजिट इन्सुरेन्स कर्पोरेशनले बैंक टाट पल्टिएको घोषणा गरेको थियो ।

सिलिकन भ्याली बैंक टाट पल्टिएको केही समयमा नै न्युवर्क अवस्थित सिग्नेचर बैंक पनि तरलता व्यवस्थापन गर्न नसक्दा टाट पल्टियो । यस्तै फस्ट रिपब्लिक बैंक, सिल्भरगेट बैंकको अवस्था समेत गम्भीर अवस्थामा पुगेको छ । गत एक महिनामा फस्ट रिपब्लिक बैंकको सेयर मूल्य ८८.६५ प्रतिशतले घटेको छ । यस्तै सिल्भरगेट बैंकको सेयर मूल्य ७१.९२ प्रतिशतले घटेको छ ।

सन् २००८ पछिको ठुलो वित्तीय संकटका रुपमा सिलिकन भ्याली बैंक टाट पल्टिनुलाई लिइएको छ । बढ्दो मुद्रास्फीति नियन्त्रण गर्नका फेडले निरन्तर ब्याजदर बढाइरहँदा अधिकांश बैंकहरु संकटग्रस्त हुने अवस्थामा पुगेका छन् । ब्याजदर उच्च हुँदा अमेरिकी अर्थतन्त्र मन्दी उन्मुख रहेको छ ।

मुद्रास्फीति नियन्त्रणका लागि ब्याजदर बढाउनुका साथै वित्तीय स्थीरता कायम गर्नुका लागि तरलता व्यवस्थापन गर्नु सकेमा सम्भावित वित्तीय संकट टार्न सकिने रुबिनीले भनाइ रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद