Media Network

१४८ अर्बको सकारात्मक बचतको स्थितिमा देश रहेको छ: गभर्नर अधिकारी


खबरस्टोरी संवाददाता

१० बैशाख २०८०,आईतवार

काठमाडौँ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा अहिले १४८ अर्बको सकारात्मक बचतको स्थितिमा देश रहेको तथ्य प्रस्तुत गरेका छन्।

एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद कार्यक्रममा उनले  हाल कनेक्ट आईपीएसमार्फत मासिक ५० अर्बको र क्यूआरमार्फत मासिक २० अर्ब रुपैयाँको भुक्तानी भइरहेको बताए।

अर्थतन्त्रमा भएको असहजतालाई सहजीकरण गर्ने विषय राज्यले सोच्ने उनले बताए । गभर्नर अधिकारीले अहिले तरलता सहज हुँदै गएको बताए । लगानीयोग्य रकम बढेकाले उद्योगीलाई ‘फाइनान्सियल रिसोर्स’ अभाव नहुने उनको भनाइ छ ।

“अहिले जुन फाइनान्सियल तनाव थियो, त्यसमा क्रमशः सुधार हुँदै गएको छ । सीडी रेसियोबाट हेर्दा बैंकहरूसँग दुई खर्ब लगानीयोग्य पुँजी छ,” उनले भने । ११ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति रहेको पनि उनले बताए । उनले गएको वर्ष झन्डै अढाई खर्बभन्दा माथि डेफिसिट भएको बीओपी अहिले सहज स्थितिमा रहेको जिकिर गरे ।

उनले अहिले १४८ अर्बको सकारात्मक बचतको स्थितिमा देश रहेको तथ्य प्रस्तुत गरे । उनले मासिक दशौँ अर्ब रुपैयाँको कारोबार विद्युतीय भुक्तानी प्रणालीमार्फत हुने गरेको जानकारी दिए । यसले प्रविधिका क्षेत्रमा पनि महत्त्वपूर्ण सुधारको संकेत गरेको उनले बताए ।

उनले हाल कनेक्ट आईपीएसमार्फत मासिक ५० अर्बको र क्यूआरमार्फत मासिक २० अर्ब रुपैयाँको भुक्तानी भइरहेको जानकारी दिए । “ई–कमर्स र डिजिटल पेमेन्टलाई सघाउ पुगोस् भनेर डलर कार्ड ल्याएका छौँ, धेरै मान्छेलाई फाइदा पुगेको छ,” उनले भने ।

नेपालमा वैदेशिक लगानी भित्र्याउन आवश्यक प्रक्रिया समेत डिजिटल माध्यममा ल्याइएको उनले बताए । गर्भनर अधिकारीले ब्याजदर मात्र ठूलो समस्या नभएको बताए । उनले ०५६÷५७ सालअघि कर्जाको ब्याजदर १६ देखि १८ प्रतिशत पुगेको स्मरण गरे ।

अहिले बजारमा वस्तुको माग घटेका कारण समस्या आएको उनले बताए । ब्याज भोलिको दिनमा घट्ने भन्दै उनले यसलाई समस्याका रूपमा नलिन आग्रह गरे।

Share:
Reaction :
ताजा समाचार
खेलकुद