Media Network

अर्थमन्त्रीले खारेज गर्ने भनिएका निकायलाई नै बजेट


खबरस्टोरी संवाददाता

२६ श्रावण २०८०,शुक्रबार

काठमाडौँ। राष्ट्रिय योजना आयोगले आगामी तीन आर्थिक वर्षका लागि तयार पारेको मध्यमकालीन खर्च संरचनामा खारेज गर्ने निकायलाई नै राखिदिएको छ । जलस्रोत अनुसन्धान तथा विकास केन्द्रलाई योजना आयोगले खर्च संरचनामा राखेको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षको बजेट वक्तव्यमै यस्ता २६ निकाय खारेज गर्ने, गाभ्ने र पुनर्संरचना गर्ने जनाएका थिए ।

तर, बजेट कार्यान्वयनको पहिलो महिना नबित्दै खारेज गर्नुपर्ने निकाय जोगाउन माथिल्लो तहमै लागि परेको छन् । यस्ता निकाय खारेज गर्दा या गाभ्दा राज्य कोषमा व्ययभार बढाउने निकायको संख्या घट्ने छ।

  चालू आर्थिक वर्षका लागि केन्द्रलाई शून्य बजेट अनुमान गरिएको छ । तर, आगामी आर्थिक वर्षका लागि २६ करोड २० लाख रुपैयाँ बजेट प्रक्षेपण गरिएको छ । त्यस्तै, आर्थिक वर्ष २०८२/८३ का लागि पनि २६ करोड २० लाख रुपैयाँ नै विनियोजन अनुमान छ ।

सरकारले यो केन्द्र खारेज गरी अनुसन्धान सम्बन्धी कार्य जल तथा शक्ति आयोग र पूर्वाधार सम्बन्धी कार्य जलस्रोत तथा सिंचाइ विभागबाट हुने व्यवस्था मिलाउन खोजेको थियो । तर, खारेज गर्ने भनिएको निकायलाई किन त्रिवर्षीय बजेट प्रक्षेपण गरियो भन्ने प्रश्न खडा भएको छ । खारेज गर्ने भनिएका निकायहरूको सम्पत्ति तथा दायित्व व्यवस्थापनको काम सम्बन्धित मन्त्रालयले मंसिर मसान्तभित्र सम्पन्न गर्नुपर्ने समयसीमा बजेट वक्तव्यमै तोकिएको छ ।

खारेज गर्ने भनिएको अर्को निकाय भूमिगत जलस्रोत विकास समितिलाई पनि सरकारले आगामी दुई आर्थिक वर्षमा ७/७ करोड रुपैयाँ बजेट अनुमान गरेको छ । खारेज गरी हुलाक सेवा विभागबाट कार्य सम्पादन गर्ने भनिएको केन्द्रीय धनादेश कार्यालयलाई पनि आगामी आर्थिक वर्षका लागि १ करोड ५४ लाख र आर्थिक वर्ष २०८२/८३ का लागि १ करोड ५९ लाख रुपैयाँ विनियोजन प्रक्षेपण गरिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद