Media Network

भदौ अन्तिम साताबाट दशैंतिहार लक्षित सुपथ पसल सञ्चालन


खबरस्टोरी संवाददाता

९ भाद्र २०७९,बिहीबार

काठमाडौं । भदौ अन्तिम साताबाट दशैंतिहारजस्ता चाडबाड लक्षित सुपथ मूल्यका पसल सञ्चालन गरिने भएको छ । सरकारले चाडपर्व नजिकिँदै गर्दा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो । 

असोजको दोस्रो–तेस्रो सातामा परेको यस वर्षको दशैँ र कात्तिकको दोस्रो सातामा परेका तिहार र छठलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना तयार गरेको छ । 

प्रत्येक वर्ष चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गरिँदै आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेर सम्बन्धित निकायलाई निर्देशनसमेत गइसकेको जानकारी दिए । चाडपर्वमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो  । 

सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन  र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसलबाट सामान बिक्री गर्नेछन् । छुट मूल्यमा उपभोक्तालाई सामान बिक्री गरेबापत सरकारले कम्पनीलाई शोधभर्ना रकम उपलब्ध गराउँछ । दुई वर्षअघिदेखि सरकारले उपभोक्तालाई राहत दिन बजेटमै रकम व्यवस्था गर्दै आएको छ । यस वर्ष उपभोक्तालाई राहत दिन चार करोड रुपियाँ छुट्याइएको मन्त्रालयले जनाएको छ ।

सुपथ मूल्य पसलमा नुन, तेल, चामल, घिउ, पनिर, फापर र कर्णालीको सिमी बिक्रीमा राखिनेछ । यस्तै घुम्ती सेवामार्फत सुपथ मूल्यमा सामान बिक्री गरिनेछ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस पटक दशैँका लागि तीन हजार खसीबोका र च्याङ्‍ग्रा काठमाडौं ल्याउने भएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद