Media Network

बैंकले एसएलएफमार्फत १ खर्ब ६३ अर्ब सापटी लिए


खबरस्टोरी संवाददाता

१५ कार्तिक २०७९,मंगलवार

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत करिब १ खर्ब ६३ अर्ब रुपैयाँ अल्पकालीन सापटी लिएका छन् । जसअनुसार बैंक तथा वित्तीय संस्थाले एसएलएफमार्फत गत आइतबार ८७ अर्ब ४६ करोड र सोमबार ७५ अर्ब १६ करोड रुपैयाँ सापटी लिएका हुन् ।

सरकारी ऋणपत्र धितोमा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट लिने अल्पकालीन सापटी नै एसएलएफ हो । सरकारी ऋणपत्रको धितो राखेर यस्तो सापटी लिन पाइन्छ । एसएलएफको परिपक्व अवधि बढीमा ७ दिनको हुन्छ । बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्छन् ।

यस्तै, गत साउन १ देखि सोमबारसम्म बैंक तथा वित्तीय संस्थाले एसएलएफमार्फत मात्र २३ खर्ब ५६ अर्ब ५८ करोड रुपैयाँ अल्पकालीन सापटी लिएका छन् । योसँगै बैंक तथा वित्तीय संस्थाले ठूलो परिमाणमा ओभरनाइट रिपो पनि खरिद गरेका छन् । तरलता व्यवस्थापनकै लागि राष्ट्र बैंकले असोज महिनामा मात्र दुई पटक रिपोमार्फत ३०÷३० अर्ब रुपैयाँ बजारमा पठाएको थियो ।

यद्यपि राष्ट्र बैंकका तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसत ८७ प्रतिशत छ । यो निर्देशित सीमाभन्दा कम हो । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले बढीमा ९० प्रतिशत सीडी अनुपात कायम गर्नुपर्छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद