Media Network

चैतमा मात्र एक खर्ब राजस्व संकलन


खबरस्टोरी संवाददाता

४ बैशाख २०८०,सोमबार

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को चैत महिनामा मात्र एक खर्ब एक अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । चैतमा सरकारले एक खर्ब ४६ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । 

अर्थ मन्त्रालयका अनुसार चैतमा लक्ष्यको ६९.३० प्रतिशत मात्र राजस्व संकलन भएको छ । जसमा कर राजस्वबापत ९ अर्ब ६४ करोड ५६ लाख रुपैयाँ संकलन भएको छ । त्यसैगरी गैरकर राजस्वबापत ११ अर्ब ३८ करोड रुपैयाँ प्राप्त भएको छ । 

गत आर्थिक वर्ष २०७८/७९ को चैतमा एक खर्ब पाँच अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । गत वर्षको चैतको तुलनामा यो वर्षको चैतमा कम राजस्व संकलन भएको छ । गत वर्षको चैतमा कर राजस्वबापत ९९ अर्ब ३८ करोड रुपैयाँ संकलन भएको थियो । गैरकर राजस्वबापत पाँच अर्ब १७ करोड रुपैयाँ संकलन भएको थियो । 

चालु आर्थिक वर्षको चैतमा भन्सार महशुलबापत एक अर्ब २८ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै मूल्य अभिवृद्धि करबापत चैतमा २५ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन भएको छ । अन्तःशुल्कबापत १२ अर्ब ७४ करोड, शिक्षा सेवाशुल्कबापत २० करोड ४१ लाख, आयकरबापत ३४ अर्ब ९१ लाख रुपैयाँ र अन्य प्राप्तिबापत चैत महिननामा ६५ करोड ८५ लाख रुपैयाँ सरकारलाई प्राप्त भएको छ । 

चालु आर्थिक वर्षको चैत मसान्तसम्म सरकारलाई सात खर्ब १९ अर्ब ६७ करोड रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले जानकारी दिएको छ । मूल्य अभिवृद्धि कर अन्तर्गत उत्पादन, वस्तु बिक्री र वितरण, परामर्श तथा ठेक्का, पर्यटन सेवा संकलन, सञ्चार सेवा, बिमा, हवाई उडानलगायत पर्दछ भने अन्तःशुल्कअन्तर्गत मदिरा, तथा सुर्तिजन्य पदार्थबाट प्राप्त हुने राजस्व पर्दछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद