Media Network

डेढ खर्ब बचतमा पुग्यो शोधनान्तर


खबरस्टोरी संवाददाता

२८ मंसिर २०८०,बिहीबार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा मुलुकको शोधनान्तर डेढ खर्ब बचतमा पुगेको छ ।नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आवको कात्तिक मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भने मुलुकको शोधनान्तर २० अर्ब ३ करोड रुपैयाँले मात्र बचतमा रहेको थियो ।

चालु आवको कात्तिक मसान्तसम्ममा अमेरिकी डलरमा भने यस्तो बचत १ अर्ब ११ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष भने अमेरिकी डलर १४ करोड ९६ लाख अमेरिकी डलर मात्र बचतमा थियो ।

यस्तै, विदेशी विनिमय सञ्चितिमा १०.२ प्रतिशतले वृद्धि भएको छ । गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति १०.२ कात्तिक मसान्तमा १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७१ करोड रहेको थियो । तर, कात्तिक मसान्तमा ८.९ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेको थियो । चालु आवको कात्तिक मसान्तमा १०.८ प्रतिशतले वृद्धि भई १४ खर्ब ९० अर्ब ८३ करोड पुगेका छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा कात्तिक मसान्तमा ६.४ प्रतिशतले वृद्घि भई २ खर्ब ५ अर्ब ९५ करोड कायम भएको छ । कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत रहेको छ ।

चालु आवको चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.६ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३१.५ प्रतिशत, ९४.३ प्रतिशत र २६.७ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद