Media Network

एकैदिनमा ११ अर्ब (मर्जर/एफपीओ) कर संकलन


खबरस्टोरी संवाददाता

१ पुष २०८०,आईतवार

काठमाडौं । शुक्रबार एकै दिनमै बैंक तथा वित्तीय संस्थाहरूले  ११ अर्ब ३ करोड रुपैयाँ कर बुझाएका छन् । सर्वोच्चले बिहीबार मर्जरको बार्गेन पर्चेज गेन र थप सार्वजनिक निष्काशन (एफपीओ) को कर तिर्नुपर्ने फैसला गरेसँगै बैंक÷वित्तीय संस्थाहरू दबाबमा परेका थिए ।

ठूला करदाता कार्यालयका अनुसार एकै दिन ११ अर्ब ३ करोड रुपैयाँ कर संकलन भएको हो । मर्जर र एफपीओमा कर असुल्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि कर उठाउने बाटो खुलेको थियो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्ष २०८०÷०८१ को आर्थिक विधेयकमा एफपीओ र मर्जरको आयमा कर लाग्ने व्यवस्था गरेका थिए ।

संवैधानिक व्यवस्था विपरीत नयाँ कर लगाएको र भूतप्रभावी कानून ल्याएर लगानीको वातावरण बिगारेको भन्दै आर्थिक विधेयकको दफा २६ र २७ नम्बरको बुँदा बदर गर्न माग गर्दै १६ वाणिज्य बैंकले गत भदौ २९ गते सर्वोच्चको संवैधानिक इजलाशमा संयुक्त रिट दायर गरेका थिए ।

चुक्तापूँजी वृद्धि क्रममा बैंक÷वित्तीय संस्थाले विभिन्न उपकरण प्रयोग गरी उठाएको रकमबाट सरकारलाइ करिब ४० अर्ब रुपैयाँ कर प्राप्त हुने अनुमान छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद