Media Network

एनआईसी एशिया बैंक २५ वर्षमाः खुद मुनाफा चार अर्ब ५३ करोड


ऋतु बोहरा

५ श्रावण २०७९,बिहीबार

काठमाडौं । एनआईसी एशिया बैंक २५ औं बर्षमा प्रवेश गरेको छ । २५ वर्षअघि आजकै दिन सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ शुरू भएको अतुलनीय सहयात्राको फलस्वरूप देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै रजत जयन्ती मनाउन गइरहेको छ । 

“बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने नाराका साथ अघि बढेका यो बैंकले आफ्ना ग्राहकवर्ग, नियमनकारी निकायहरू, शेयरधनीहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरूप्रति कृतज्ञता ब्यक्त गरेको छ । 

आगामी दिनहरुमा अझ विश्वस्तरिय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने बैंकले अठोट गरेको छ । 

बैंकले २५ वर्षको यात्रामा आफ्नो शेयरधनीहरुको सम्पतीलाई उच्चतत्र बृद्धि गर्ने उद्देश्यलाई केन्द्रमा राखी आर्थिक वर्ष ०५६/०५७ मा एक कित्ता बराबरको साधारण शेयरमा लगानी गर्ने शेयरधनीको हालसम्म आइपुग्दा उक्त शेयर संख्या १३ दशमलव १२ कित्ता पुगेको जसको प्रतिफल आजको बजार मूल्यमा नौं हजार पाँच सय २० रुपैंयाँ ९७ पैसा प्रदान गर्न सफल भएको वैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

त्यसैगरी, देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत अर्थिक वर्ष २०७८/७९ मा मात्रै तीन अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन सफल भएको बताइएको छ । 

साथै मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहकहरूमाझ गतिशील बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशियाले गत आ.व. २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । 

बैंकले आ.व. २०७८/७९ मा खुद मुनाफातर्फ चार अर्ब ५३ करोड रुपैंयाँ आर्जन गर्न सफल भएको छ । जुन वार्षिक विन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल १९ दशमलव ६५ प्रतिशत रहेको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । साथै, प्रति शेयर आम्दानी तर्फ ३९ रुपैंयाँ १३ पैसा आर्जन गर्न सफल भएको छ । जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई शुन्य दशमलव ४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ । 

त्यसैगरी बैंकको कुल पूँजी पर्याप्तता अनुपात १३ दशमलव ५१ प्रतिशत र टायर १ क्यापिटल एडुकेसी रेशियो आठ दशमलव ९३ प्रतिशत पु¥याई पूँजी व्यवस्थापनतर्फ पनि उत्साहजनक नतिजा हासिल गर्न बैंक सफल भएको छ ।

बैंकले आ.व. २०७८/७९ को चौथो त्रयमाससम्ममा १२ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ४० लाख भन्दा बढी खाताहरू मार्फत ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । 

यसै त्रैमासिकसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरु कर्जा विस्तार गरेकोे छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका तीन सय ५९ वटा शाखा कार्यालयहरू, चार सय ७३ वटा एटिएम, एक सय दुई वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । 

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई एनआईसी एशिया बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । 

देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरी बैकिङ्ग सेवा प्रवाह गर्दै आएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद