Media Network

गोपालनगरका माछापालक ब्यवसायीका कथा


प्रेम कडेल

२९ पुष २०७८,बिहीबार

चितवन । चितवनको माडी नगरपालिका वडा नं. ७ गोपालनगर माछापालनको पकेट क्षेत्रको रुपमा चिनिन्छ । त्यही क्षेत्रमा ३५ वर्षीय युवा प्रकाश नेपाल क्षेत्री विगत ५ वर्षदेखि माछापालन ब्यवसाय गरिरहेका छन् । 

झण्डै अढाई विगाहा क्षेत्रफलमा पोखरी निर्माण गरी माछापालन गरिरहेका उनले करिब वार्षिक सात लाख लगानी गरिरहेका छन् । 

दैनिक आठ क्विन्टल माछा पोखरा र काठमाडौंमा सप्लाई गर्ने गरेको उनी बताउँछन् । सात वर्षको साउदी अरबको रोजगार छाडेर स्वेदश फर्किएका प्रकशलाई यो ब्यवसायमा श्रीमती सुस्मिताले साथ दिएकी छन् । 

तर कृषि क्षेत्रका राज्यले हेर्ने दृष्टिप्रति भने प्रकाश सन्तुष्ट छैनन् । “झोलामा फाइल बोकेर अनुदान खाने गैरकिसानको बिगबिगी देख्छु ।’’– उनी भन्छन् । 

किसानले माछाको उचित मूल्य नपाएको उनको गुनासो छ । वास्तविक किसानहरूको पक्षमा नीति निर्माण र सहुलियतपूर्ण दरमा कृषि सामाग्रीको व्यवस्था नभएको पनि उनी बताउँछन् । 

प्रकाशजस्तै अर्का किसान ऋषिराम निरौला पनि आफ्नो ब्यवसायप्रति खुशी छैनन् । 

झण्डै दुई दशकदेखि माछापालन व्यवसाय गरिरहेका निरौलाको करिब दुई बिगाहा क्षेत्रफलमा माछापोखरीहरु छन् । निरौलाले पनि लगानी अनुसार प्रतिफल नपाएको गुनासो गरे । किसानलाई वर्षामा गोही र हिउँदमा साइबेरियन चरा तथा जंगली हाँसबाट माछाका भुराहरु जोगाउनै समस्या छ । 

प्रकाशजस्तै निरौला पनि लामो समय वैदेशिक रोजगारमा थिए । वैदेशिक रोजगारबाट थाकेर स्वदेशमा कृषि कर्म थालेका उनी लगानीको मात्र होइन, श्रमको मूल्य समेत नपाएको बताउँछन् । यद्यपि परिवारका सदस्य सँगै बसेर रमाउन पाउँदा भनेर महिलाहरु खुशी नै देखिए । ऋषिरामकी पत्नी तुलसी कृषि सहकारीमा पनि उत्तिकै सक्रिय छिन् । 

किर्तनपुर–७ स्थित आधारभुत विद्यालय दक्षिण कालिका देवेन्द्रपुरमा शिक्षक उपेन्द्रप्रसाद निरौलाले पनि लामो समयदेखि सोही क्षेत्रमा माछापालन ब्यवसाय गरिरहेका छन् । माछापालन ब्यवसायको लामो अनुभव सँगालेका उनले पनि विभिन्न समस्याहरु औंल्याए । 


झण्डै एक विगाहा क्षेत्रफलमा माछापालन गरिरहेका उनी किसानलाई उत्साह प्रदान गर्नुपर्ने राज्य प्रशासनले बेलाबेलामा निराश बनाउने काम गरेको सुनाउँछन् । 

समयमा रासायनिक मल, माछाको दानाको अभाव, वर्षामा माछालाई उचित अक्सिजनको कमी, प्रायः जेठदेखि भदौसम्म आकस्मिक रुपमा मरेका माछाको व्यवस्थापनमा समस्या रहेको रहेको उनले बताए । 

यस्तै, योगेन्द्रप्रसाद निरौलाले वर्षौदेखि यहि ठाउँमा माछापालन ब्यवसाय गर्दै आएका छन् । स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक माछालाई खोलाको माछा भनेर उपभोक्ताहरुले हिच्किचाउने गरेको निरौलाले स्मरण गरे । 


प्रदेश सरकार र स्थानीय तहले माछापालक किसानका लागि भन्दै विभिन्न कार्यक्रमहरु अघि सारे पनि यहाँका किसानले राहतको महशुस गर्न पाएका छैनन् । 

केही दिनअघि चितवनका प्रमुख जिल्ला अधिकारीले किसानले कालोबजारी गरेको भन्दै हुर्मत काढेका थिए । जिल्लाको सिडियोले किसानलाई उत्साहित बनाउनुपर्नेमा किसानले कालोबजारी गरेको भन्दै ‘एक्सन’ लिएपछि किसानमा झनै बढी निरासा बनायो ।  

चितवनका माछापालक किसानले हाल माछाको थोक मूल्य सिल्भर कार्प प्रतिकेजी २६० रुपैयाँमा बिक्री गरिरहेका छन् भने रहु, नैनी, कमन ग्रास र बिग हेड माछाको प्रतिकेजी ३१० रुपैयाँमा बिक्री गरिरहेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद