Media Network

‘घर कर्जा’ दिन बैंकहरू बीच प्रतिस्पर्धा, कुनको अफर कस्तो ?


खबरस्टोरी संवाददाता

९ पुष २०८०,सोमबार

काठमाडौं । पछिल्लो समयमा बैङ्कहरूको कर्जाको ब्याजदर औसतमा एकल अङ्कमा झरेको छ । बैङ्कहरूले निक्षेपको ब्याजदर घटाएसँगै कर्जाको पनि ब्याजदर घटाउन थालेका हुन् । हाल बैङ्कहरूको मुद्दती निक्षेपको ब्याजदर ७ प्रतिशतसम्म आइपुगेको छ । केही समय अघिसम्म भने यस्तो ब्याजदर ८ प्रतिशतसम्म रहेको थियो ।

बैङ्कहरूले निक्षेपको ब्याजदर घटाउँदा लागत पनि घटेको छ, जसले कर्जाको ब्याजदर पनि थप सस्तो बन्दै आएको छ। लागत घटेसँगै बैङ्कहरूको आधार दर पनि घट्दै आएको छ । हाल बैङ्कहरूको आधार दर औसत ९.८५ प्रतिशत छ । आधार दर घट्दा कर्जाको ब्याजदर पनि घट्छ, ऋणीले जस्तो ब्याजदरमै कर्जा पाउँछन् ।

अहिले बैंकिङ्ग प्रणालीमा अधिक तरलता छ । तर, कर्जा प्रवाह भने अलि सुस्त छ । यद्यपि, बैङ्कहरूले कर्जा लगानी बढाउन विभिन्न योजना अघि सारेका छन् । विशेषगरि बैङ्कहरूले घर कर्जा केन्द्रित देखिएका छन् । अहिले अधिकांश बैङ्कहरूले १० प्रतिशतभन्दा कम फिक्स ब्याजदरमा नै घर कर्जा दिन तम्सिएका हुन् । बैङ्कहरूले कम ब्याजदरमा घर कर्जा दिन बैङ्कहरूबिच प्रतिस्पर्धा चलेको जस्तो देखिन्छन् । एकल अङ्कको ब्याजदरमै कर्जा दिन बैङ्कहरू तयार छन् ।

हाल कतिपय बैङ्कहरूले १० प्रतिशतभन्दा कम ब्याजदरमै घर कर्जा उपलब्ध गराउन योजना अघि सारेका हुन् । विशेषगरि लामो समयदेखि सुस्ताएको घर जग्गा कारोबारलाई नै चलायमान बनाउन बैङ्कहरूले न्यूनतम तथा फिक्स ब्याजदर तोकेर अफर ल्याएका हुन् । अझ फिक्स (स्थिर) ब्याजदरको कर्जा सस्तो बनाउन बैङ्कहरूबिच नै प्रतिस्पर्धा जस्तो देखिन्छ ।

ग्लोबल आइएमई बैङ्क

गत शुक्रवार मात्रै ग्लोबल आइएमई बैङ्कले विशेष घर कर्जा योजना ल्याएको छ । बैङ्कले एकल अङ्कमा आधारित न्यूनतम ब्याजदरमा १२ करोड रुपैयाँसम्मको कर्जा सीमा भएको कर्जा योजना ल्याएको हो ।

बैङ्कले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना जनाएको छ । बैङ्कको उक्त घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने छन् । तर, ५ देखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढीको अवधिका लागि ११.४९ प्रतिशत फिक्स ब्याजदर तोकेको छ । बैङ्कले ग्राहकलाई छिटो, छरितो एवं सहज रूपमा कर्जा प्रवाह गर्ने जनाएको छ । आवश्यक कागजातहरू पेस गरेको ३ कार्य दिनभित्र बिना झन्झट कर्जा उपलब्ध गराउने बैङ्कले जनाएको छ ।

नबिल बैङ्क

नबिल बैङ्कले पनि १० प्रतिशतभन्दा कम ब्याजदरमै घर कर्जा दिने भएको छ । नबिल बैङ्कले ७ वर्षसम्म स्थिर रहने गरी ९.९९ प्रतिशत फिक्स ब्याजदरमा घर कर्जा योजना ल्याएको हो । सुलभ ब्याजदरको ‘नबिल ढुक्क घर कर्जा’ योजनामार्फत ३० वर्षसम्मका लागि कर्जा लिन सकिने बैङ्कले जनाएको छ ।

एनमबि बैङ्क

एनमबि बैङ्कले बैङ्कले सस्तो ब्याजदरको घर कर्जा योजना ल्याएको छ । बैङ्कले फिक्स ब्याजदरमै घर कर्जा उपलब्ध गराउने भएको छ । बैङ्कले स्थिर ब्याजदरको ‘सुलभ घर कर्जा’ योजना अघि सारेको हो । बैङ्कले १० वर्षसम्मका लागि १०.४९ प्रतिशत स्थिर ब्याजदरको घर कर्जा योजना ल्याएको हो । यस्तो योजनाले घर खरिद गर्न वा निर्माण गर्ने योजनामा रहेका ग्राहकहरू लाभान्वित हुने बैङ्कले अपेक्षा गरेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले पनि पहिलो १०.७४ प्रतिशत ब्याजदरमा घर कर्जा दिने भएको छ । बैंकले ‘नारीको नाममा घर, आकर्षक ब्याजदर’ भन्ने नारासहित योजना अघि सारेको छ । नारीको नाममा घर जग्गा खरिद गर्न प्रोत्साहन स्वरुप नियमित भन्दा अझै कम गरि १०.७४ प्रतिशत ब्याजदरमा घर कर्जा योजना ल्याएको हो ।

कामना सेवा विकास बैङ्क

कामना सेवा विकास बैङ्कले पनि स्थिर ब्याजदरमै घर कर्जा उपलब्ध गराउने भएको छ । कामना सेवाले ‘सपनामा हैन अब, वास्तवमै घर समृद्धिको सपनालाई कामना सेवाको भर’ सुलभ ब्याजदरको कर्जा योजना ल्याएको हो । बैङ्कले ११.८५ प्रतिशत ब्याजदरमा घर कर्जा दिने स्किम अघि सारेको हो । कर्जाको अवधि भने २५ वर्षसम्मको हुने बैङ्कले जनाएको छ । बैङ्कका अनुसार पहिलो घर खरिद गर्नेले ७० प्रतिशतसम्म कर्जा पाउनेछन् । बैङ्कको उक्त योजनामा मार्फत अधिकतम २ करोडसम्म कर्जा लिन पाइने बैङ्कले जनाएको छ ।

सिटिजन बैङ्क

सिटिजन बैङ्कले पनि फिक्स रेटमै घर कर्जा उपलब्ध गराउने भएको छ । ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ योजना अन्तर्गत बैङ्कले यस्तो घर कर्जा योजना ल्याएको हो । बैङ्कले १०.९९ प्रतिशत स्थिर ब्याजदरको घर कर्जा योजना ल्याएको छ । यसको अवधि भने ७ वर्षसम्मको हुने बैङ्कले जनाएको छ । बैङ्कबाट घर कर्जा लिँदा ऋणीले ७ वर्षसम्म एउटै १०.९९ प्रतिशत ब्याजदर तिरे पुग्छ ।

गरिमा विकास बैङ्क

 गरिमा विकास बैङ्कले पनि ११.९९ प्रतिशत फिक्स ब्याजदरमै घर कर्जा योजना अघि सारेको छ । बैङ्कले ‘मेरो आफ्नै घर’को नारासहित ११.९९ प्रतिशत फिक्स ब्याजदरमा घर कर्जा योजना ल्याएको हो । बैङ्कले आवश्यक सम्पूर्ण कागजात पेस गरेको दुई कार्य दिनमै ऋण स्वीकृत हुने जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद