Media Network

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कहाँ कति ?


खबरस्टोरी संवाददाता

१९ असार २०८०,मंगलवार

काठमाडौं । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ ।

सोमबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले सो मूल्य घटाउने निर्णय गरेको हो । यसपटक भने निगमले वैज्ञानिक प्रणालीबाट मूल्य निर्धारण गरेको हो । यसपटक तराईलाई पहिलो वर्गमा राखिएको छ भने दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ रहेका छन् । त्यस्तै तेस्रो वर्गअन्तर्गत काठमाडौं‚ पोखरा र दीपायल परेका छन् ।

अब काठमाडौं‚ पोखरा र दीपालयमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५०/१५० रुपैयाँ पर्नेछ ।त्यस्तै तराईमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६७.५ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७.५/१४७.५ रुपैयाँ पर्नेछ ।

सुर्खेतको र दाङमा भने पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९१४९ रुपैयाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखेको छ ।

त्यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा वाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद